म गाउँछु विप्लवयुक्त गाना उठाउँछू शोषकको खजाना 
हटाउँछू दीन र हीन रात म ल्याउँछू स्वर्णिमको प्रभात ।
नयाँ गवैया म नयां गवैया । 
हजारको रोदनले भरेर म गीत गैह्रो नित गाउँनेछु 
दुःखीहरूको दुखमा रहेर उद्विग्न भै नित्य रमाउँनेछु । 
विवेक नै शोषकको लुछेर म नृत्य नै पागलझै रचेर 
म दुःख-रोगादि सबै बढार्छु म धेर नै थोरविषे उचाल्छु । 
नयाँ गवैया म नयाँ गवैया । 
हजारको मानव-मन्त्र खोजी हजारको उज्ज्वल भाग रोजी
हजारलाई सँगमा लिएर म गाउँदै सम्मुख आउँनेछ । 
विरोध जाली निज औ पराई इ बाबु आमा अनि दाजु-भाई 
कुटुम्बले यो वसुधा सजाई गर्दै पुकारा म त गाउँनेछु । 
नयाँ गवैया म नयाँ गवैया। 
घाँसीहरूका पिरमा मिलाई आफ्नो म सङ्गीत सुनाउनेछु 
सत्रस्त लोहारसँगै उडेर स्वदेश आमा म बनाउनेछु ।
सधैँ सिकर्मीहरू साथ लागी हतारिदै अर्घ्य चढाउनेछु 
पानी नुनीलो श्रमको पिएर सुखी डकर्मीसित गाउँनेछु । 
नयाँ गवैया म नयाँ गवैया । 
बोक्ने म ढुङ्गाहरूका पहाड हजार आमा-बहिनी अँगाली 
उदासको हो कि उदारको हो सुरम्य संगीत म गाउँनेछु । 
नयाँ गवैया म नयाँ गवैया । 
………………………………..
(भारती,, २।११,, वैशाख २००८ )