भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नयाँ वर्ष ! तिमीलाई मैले पटकपटक भनेँ / कलानिधि दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नयाँ वर्ष !
तिमीलाई मैले
पटकपटक भनेँ
धेरै पटक भनेँ
तिमी साँच्चै नयाँ भएर आऊ
सप्तरङ्गी मात्र होइन
सहस्र रङ बोकेर आऊ
+ + +
आग्रह राख्यौ कि
दुराग्रह ठान्यौ ?
वर्ष हरेक तिम्रा आगमनमा
तिनै बिग्रेका मनहरू छन्
भत्केका तनहरू छन्
बारुद बलेका जनहरू छन्
+ + +
टपक्क टापुमा फुलेर
वास्नाभरि हिमाल उचाल्छौ त
के भयो र खै ?
जहाज हवाईजहाजको यात्रा उड्ने
थोरै छन् - यहाँ
प्राडोपजेरोको प्याला गुड्ने पनि
थोरै छन् - यहाँ, विराट धर्तीमा
यिनलाई-
न तिम्रा आगमनको पर्वाह छ
न पर्खाइको आवश्यकता छ
सदावहार
शिशिरमा पनि तातिएकै छन्-यिनीहरू
ग्रीष्ममा पनि समग्र शीतलतामा
साटिएकै छन्-यिनीहरू
+ + +
वर्षाको हिलोले
औँलामा-
बेसार आवश्यक छैन- यिनलाई
हिउँदको ठिहीले
चिथराको जोरजाम, सम्झनु छैन- यिनलाई
गुराँसको सुन्दरता
आँखाआँखामा सजाउने फुर्सद छैन यिनलाई
भोड्काले मात्तिएका यिनीहरू
कतै स्वस्तिष्कमा सुसाइड गर्दैछन्
कतै र्‍याडिसनमा रङ्गेहात
नाङ्गा युगल बनेर पक्राउ पर्दैछन्
कतै टपबारकै टपटपबाट
निर्लज्ज हामफाल्दैछन्
+ + +
नयाँ वर्ष !
तिमीलाई मैले पटकपटक
धेरै पटक भनेँ
अब आउँदा
तारेसितारे होटल होइन
हिमालको तल्लो चोटिबाट
कोटिकोटि गौंडाहरू उक्ल
जहाँ असङ्ख्य मान्छेका
नुनिला चित्कारहरू बिच्छिएका छन्
आङ् उजाड र पेट पेरुङ्गा भएका छन्
न त उनीहरू-
चारोको चौडाइँ चुम्न सक्छन्
न त गुराँस सौन्दर्य
आँखाभरि अटाउन सक्छन्
न त आङ्भरि चिथरा पैरेर
निर्भीक-हिँड्न पाउँछन्
मुस्कानका कुरै छाड
आँसु पुछ्ने हत्केला पनि
ओवाना छैनन्-तिनीहरूसँग
शीत छल्ने छानाको कुरै छोड
चेतनाको बत्ती बल्ने
दाना पनि छैनन्- तिनीहरूसँग
+ + +
नयाँ वर्ष !
तिमीलाई मैले
पटक पटक धेरै पटक भनेँ
पट्पटी फुटेर
छर्छर्ती रगत निस्केका
मोहक वर्षाका चप्पल भएर आऊ
बक्वासको खेतीमा
विलासको रजाइँ गर्न पल्केका
नेताका कथित जेताका
गुण्डाका
चोर, डाँका र छुल्याहाका
शिरसम्म
तिम्रा पाइतालाले टेकेर
गुलाफका हातहरू
प्रीतिका हरिया पातसँगै सजाएर
खोँचखोँचमा ओर्ल
झुप्राझोपडीमा फैल
सौन्दर्यको बत्ती त
त्यहाँ बल्नुपर्छर्-मानवताको
नयाँ भएको सङ्केत त
त्यहाँ हुनु पर्छ- प्रजातन्त्रको -लोकतन्त्रको
नयाँ वर्ष !
तिमी त्यतातिर ओर्ल-अब ।