Last modified on 6 जुलाई 2017, at 09:58

नानी बगरमा सुताएर फर्केकी आमालाई / ज्योति जङ्गल



आमा स्वयं अनाथ हुन्छे
सन्तानको मृत्युले,
भर्खरै
छोरीलाई
धूवा बनाएर
ऊ घर आइपुगेकी छे,
भर्खरै, ऊ टुहुरी भएकी छे
उसलाई नबोलाओ।
 
जीवनले दिएको पुरस्कार
फिर्ता खोसेको छ,
हात दिएर
हत्केला काटिदिएको चोटबाट
असंख्य आसुका फोहरा छुट्लान्..
उसलाई अहिल्यै
आफ्नो सम्झना नगराओ,
उसलाई नचलाओ।
 
उ त्यहि स्मृतिमा हुनसक्छे
छोरीको पहिलो मुस्कान
उ त्यहि स्मृतिमा हुनसक्छे
छोरीको पहिलो पाइला
कानभरि छोरीको आवाजको सङ्गीत बजिरहेको हुनसक्छ...
उस्का अगाडि
प्रिय हातहरुले
रोपेका फूल हासिरहेका छन्
एकछिनमा,
उ त्यतै हेरेर मुस्काउँनेछे,
पूजाकोठामा
उसैले पुजेका देवताहरु उभिइरहेका छन्
उ त्यता पनि गएर सोध्न सक्नेछे।
 
पगालेकी उसैले हो
तमाम उराठ दिनहरुमा जम्नै आटेको हारलाई
कसैगरी ऊ धोका दिन सक्दिन
आफ्नै छोरी सम्झन नसक्नेगरी
बिगार्न आफ्नो चेतना
त्यहि छोरीको याद अटाउने
उस्को हृदय।
 
एकैछिन्,
आखा चिम्लन देओ,
विदा माग्न देओ,
सारा अतित केलाएर
छोरीको याद समेट्ने
निजी समाधि निर्माण गरोस् उस्को छातीले,
उसलाई नउठाओ,
 
मान्छे हो !
नुहाउनु पर्छ मुक्त हुनलाई
पीडाको सागरमा,
उसलाई डुब्न देओ,
उसलाई नचलाओ।