भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

निःशब्द अभिब्यक्ति / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पच्चीसबर्षे
लाऊँ-लाऊँ र खाऊँ-खाऊँको उमेरमै
ऊ पनि मरी
ठीक एक वर्षअगाडि
उसको लोग्ने मरेको थियो !
 
सिरानीमा
उसको निजी भनिने
टिनको एउटा बाकस थियो
खोलेर हेर्दा
सबैले देखे-
बाकसभित्र-सबभन्दा माथि
मृतक लोग्नेको फोटो
र, फोटोमुन्तिर
पट्याउँदै
पत्र-पत्र मिलाएर राखेको
लोग्नेको टोपी र उसको पछयौरी थियो
लोग्नेको गन्जी र उसको ब्रा थियो
कमेज थियो
चोलो थियो
लोग्नेको कट्टु र उसको पेटीकोट थियो
सुरुवालसँग फरिया थियो
जुत्तासँग चप्पल थियो
हेर्नेहरु हेरेको हेर्यैे भए
कसैको पनि वाक्य फुटेन
खिया लागेको टिनको त्यो बाकसभरि
छताछुल्ल
लोग्ने-स्वास्नीको माया थियो !
 
अरु त अरु
उसको अनपढ अभिब्यक्तिको अगाडि
पल-प्रतिपल
जिउनुको निरर्थकता धूवाँइरहेको
मेरो आफ्नै मानसिकताको पनि
एउटा अजङ धरहरा ढलेको थियो
आडम्बरको एउटा लङ्का डढेको थियो
नढाँटी भन्दैछु-
खै, के भयो त्यस बेला?
एकाएक
मलाई जीवनप्रति उखरमाउलो मोह जागेको थियो
बिनाकुनै सङ्कट
पहिलोपल्ट
मलाई मृत्युको सन्त्रासले वरिपरिबाट घेरेको थियो !