भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

निलो मन / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कुन्नि, खै
आफू कुन धरातलमा बाँच्ने हुँ ?
खोज्दै छु म
त्यो नै एउटा बिन्दु, बाँच्नुको मेरुदण्ड ।

(सायद, प्रत्येक मान्छेको खोजी नै यही हो ।)

कविला समय
बग्दै भस्कँदै बग्दै– इतिहास छालहरूमाथि
बारम्बार नाङ्गै झुन्डिन्छ
मेरुदण्डविहीन समयै झुन्ड्याएर
मेरो आफ्नै विश्वासको अगाडि,
र त्यो धमिलो समयसँगै
बग्दै गरेको सपना उभ्याउन
खोज्दै छु म मूल बिन्दु
सपना बाँच्ने मेरुदण्ड ।

(सायद मान्छेहरूको यतिको व्यस्तता यसकै खोजी हुनुपर्छ ।)

मेरो छातीभित्र पनि
एउटा नीलो मन छ
जहाँ संसार अटाउन सक्छ
    आकाश उभिन सक्छ
    असङ्ख्य सपनाहरू बाँच्न सक्छ
तर म ..........
म स्वयम् अट्न सक्दिनँ त्यहाँ
र मविनाको सपना, संसार या आकाश..........असम्भव !
के तिमी दिन सक्छौ ?
तिम्रो त्यो नीलो मन
जहाँ म अटूँ÷उभूँ
      र बाँच्न सकूँ ।

(सायद, प्रत्येक मान्छेको खोजी नै यही हो ।)