भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छः भन्छ जोशी / शैलेन्द्र साकार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अमेरिकामा बसेर देश बिर्सेको जोशी
बियरको नशाबाट एक्कासि
यथार्थमा हाम्फाल्छ
र बर्बराउँछ-
के मेरो देशको कुरा गरेको ?
मलाई थाहा पनि छैन सम्पूर्ण कुरा
कैयौँ कुरा त बिर्सी पनि सकेँ
तर मलाई लाग्छ
त्यो देश संसारको
सबभन्दा ठूलो पागलखाना हो या चिडियाखाना
कि पुरानो सङ्ग्रहालय
त्यहाँ कहीँ कतै केही नमिलेकै छ-
भन्छ जोशी
म कसैलाई दोष दिन सक्तिनँ।
जनता- ती सीधासादा र गरिब छन्
नेता- ती धूर्त र बेइमान छन् अरू देशका झैँ
व्यवस्था- त्यो पनि चाहेकै पाएका छन्
तर किन केही हुन नसकेको त्यहाँ
तर किन नेपालीले गर्व गरेर
म यो देशको नागरिक हुँ भनेर भन्न नसकेको ?
मलाई नेपाल फर्कने कुरा सम्झ्यो कि
नाडी फत्रक्क गलेर आउँछ
नसाहरू थाक्छन्
र अपरिचित त्रासले म काम्न थाल्छु
मलाई थाहा छैन मलाई किन त्यो हुन्छ –
यही देशमा पनि मैले के पो पाएको छु र ?
कुनचाहिँ उपलब्धि हात पारेको छु र ?
के कति सम्पत्ति या समृद्धि कमाएको छु र ?
तर मलाई देश फर्कन पटक्कै मन छैन ।
त्यो देश जहाँ म जन्मेँ
त्यहाँ कहीँ कतै केही नमिलेकै छ
जुन दिन त्यो खोजी होला
अङ्कल !
तपाईँ र म सँगै देश फर्कौला