भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नोकर / रोशन परियार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

"ढुङ्गामा ठोकियो कि सिसाले काट्यो
रगतका पाइला टैक्दै छोरो आएको छ
आँशुको औषधी बनाएर घाउ सफा गरिदिँदै छु
गाउँको गोरेटो खुल्लै छ तर देशको बाटो बन्द छ
छोराको खुट्टाभन्दा धेरै मेरो कलेजो चोक्टिएको छ
कलेजोकै छेऊ च्यातेर घाउमा पट्टी बाँधिदिएकी छु"
हिक्कहिक्क गर्दै छोराको खबर सुनाएर फोन राखिन्
जतिबेला मालिकको जुत्ता पालिस गर्दै थिएँ म
मन लाग्यो कि आँशुको मलमलले अझै टल्काइदिउँ

"पापी हुन् ती अपराधी हुन्
यस्ती नाबालक छोरीको शरीर लुछेर
आफ्नो भोक मेट्ने भोका कुकुरहरू हुन् ती"
यति बोल्ने बित्तिकै फोन काटियो
जतिबेला मालिकको घरमा पालिएको छाउरी कुकुरको अंगरक्षक भएर बसेको थिएँ म
मन लाग्यो कि
छाउरी कुकुरलाई छुने पापी बतासको गला रेटिदिउँ

"लट्टा परेका कपालभित्र काँइयो छिर्दैन
सेउती खोलाको किनारमा साबुन पाइदैन
गुन्यु बेरेर नुहाउँदा घाम लजाउँछ
मेरा प्राणनाथ म के गरुँ ?"
मैले जवाफ दिन सकिन
जति बेला मालिक्नी साहिबाको जुठो पेटिकोटमा साबुन दल्दै थिएँ म
मन लाग्यो कि पेटिकोटको धुवाइसँगै आफ्ना सारा जवानी पखालिदिउँ

"मेरा स्वामी , मेरा प्राणदेव
सुन्नु न
छानो चुहिएर अगेनो चिसो भो
हुरीले झ्यापझुप्पै टुकी पनि निभाइदियो
वस्तिमा कोलाहल मच्चिएको छ
दुई जिउकी गोठुलाई कता सार्नु भा'छ
सुत्केरी मनेकी आमालाई कहाँ लैजानु यति बेला
ओथारा बसेकी डिम्माकी माउको खोर भत्कियो
बाहाँ कसेका जुइनाहरु चुँडिन थाले
हामी के गरौँ ? कहाँ जाऔँ ?"

चट्याङ पड्केको आवाज आयो
फोन च्वाट्टै काटियो
मन च्यातिएर टाल्नै नमिल्ने गरि धुजाधुजा भयो
जतिबेला मालिकको बैठक कोठामा
देशको सिङ्गो नक्सा टाँस्दै थिएँ म
मालिकले इसारा गर्दै काँटी ठोक्न लगाउनु भो
मैले होशियारीकासाथ काँटी भसाइदिएँ
जहाँ काँटी पूरै भासियो
हो , त्यहीँनेर मेरो घर थियो ।।