भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

परदेशी प्रेमीको विरहपत्र / केशवनाथ शर्मा पौडयाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अयि सुन्दरि ! मन्जुहासिनी !
        रमणी ! प्राणप्रिये ! विलासिनी !
कुशलै छ मलाइ बाहिर
        अहिलेसम्म यहाँ निरसार ।।१।।

दिलको दिलदार हालत
        कहनू के छ सबै हवालत ।
टिक्दैन पलाभरी कहीं
        छ अँध्यारो जगतै जहाँतही ।।२।।

तिमिले म विदा हुँदामहाँ
        गरिथ्यौ जो दह आँशुको तहाँ ।
समझेर घडी घडी तिनै
        बहुतै व्याकुल छू म दिन्दिनै ।।३।।

रस-रङ्गवती ! नितम्विनी !
        तिमिवाहेक कुनै कुरा पनी ।
चढदैन प्रिये जनर महाँ
        तिमि नै देखदछू जहाँ तहाँ ।।४।।

दुइ चार कदम बढाउँदा
        चढदै आउँछ घोर आपदा ।
दिल भन्दछ “फर्कि फर्किजा,
        म हुनेछू नहिं ता धुजा धुजा” ।।५।।

ननिका बहुतै कडा तिखा
        बलनाले विरहिऊनका शिखा ।
दिल पोलिरहेछ यो सव
        सपनातुल्य छ रङ्ग उत्सव ।।६।।

हिंडदा-हिंडदै बिचैमहाँ
        कहिलेकाहिं प्रिये ! कहाँ कहाँ ।
सुनिने कलगान माधुरी
        उहि तिम्रो रसिलो सुधा-सरी ।।७।।

दिलदार प्रिये ! रुमाल ली
        पुछदै आँशु उसै गली गली ।
पदमा झुकदी तिमीकन
        समझी नित्य चिरिन्छ यो मन ।।८।।

गहिरो छ वियोगको व्यथा
        सहने तागत छैन सर्वथा ।
अहिले म चरो भये प्रिये
        उडि काखैबिच आउने थियें ।।९।।

नबसी नहुने अली दिन
        बसनालाइ नमानने मन ।
कसरी गरुँ बन्द सुन्दरी !
        विरही भै अब आँशुको झरी ।।१०।।

दिलदार ! डटेकि छौ तिमी
        दिलमा प्राण-समान भै जमी ।
सपना जपना सबै तिमी
        तिमि नै देखदछु घुमी घुमी ।।११।।

गिरि, देश, नदी, नदाऽदिक
        बिचमा छन् छन ता शताधिक ।
तिमिलाइ म आज तैपनी
        नजिकै देखदछू नितम्बिनी ।।१२।।

दिनको न त भोक, रातको
        न त निद्रा न त चैन बातको ।
जगतै नरमाइलो छ यो
        खुशियाली अघिको विदा भयो ।।१३।।

मुखले अरुका अघिल्तिर
        जति छोपे पनि आफनू पिर ।
छिपदैन प्रिये ! घडी घडी
        सहसा बग्दछ आँशुको झडी ।।१४।।

सुनकै प्रतिमा समानकी
        अधिदेवी रसरङ्ग मानकी ।
तिमि छौ सुमुखी तिमी विना
        समझन्छू जगतै म यातना ।।१५।।

अयि सुन्दरि ! नैन तारका !
        दिलले केलि-कला-विहारका
लहरी समझी थरी थरी
        दिनहूँ छाति चिरिन्छ चर्चरी ।।१६।।

कहिले तिमिलाइ पाउँला
        कहिले हाय ! गला मिलाउँला ।
भनि रुन्छु प्रिये ! पला पला
        अरु सम्पूर्ण कुरा भयो वला ।।१७।।

रुँदिहौ घरमा तिमी तहा
        म रुंदो छू परदेशमा यहाँ ।
विधिको बुझि खेल यो सव
        चुप लागीकन बस्तछू अब ।।१८।।

चिठिपत्र नआउँदातक
        मनमा नित्य रहन्छ धुक् चुक ।
दिनहूँ चिठि लेखदै गरे
        मनमा धीरज धारणा गरे ।।१९।।



(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)