भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

परिवर्तन / गोपालप्रसाद रिमाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हिजोसम्म रोईरोई बाँचिरहेका थिए।
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको बोलीमा केही थिएन,
मनको प्रतिध्वनिसम्म थिएन,
मानिसले बोलेजस्तै थिएन,
केवल शब्द थियो, अर्थ थिएन,
आज तिनैको बोलीमा प्राण छ,
व्यथा, उन्माद, आह्वान छ, आकर्षण छ,
आज तिनैको मौनता पनि बोल्छ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको हात भिखारीको जस्तो फैलिएको मात्र थियो
आज त्यही हात अँजुली परेको छ-
आफ्नो सम्पूर्ण जीवनलाई एक स्वप्नको निम्ति
अर्पिदिने प्रेरणा त्यसमा आएको छ,
हिजोसम्म जसमा लिने लाचारी मात्र थियो,
दिने इच्छाको उदय पनि भएको थिएन,
लाचारी, निश्छलता, कायरताका दिन बिते।
आज सब कटिबद्ध छन्, प्राण हत्केलामा छ।
हिजोसम्म जो रोईरोई बाँचिरहेका थिए
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।
हिजोसम्म जसको माया गर्ने मित्र थिएन,
घृणा गरिदिने दुश्मनसम्म थिएन-
त्यस्तो गरीब थियो !
हिजोसम्म जसको क्षुद्रता नै सर्वस्व थियो,
जो त्यही क्षुद्रतालाई कुच्रीकुच्री
कायरताको ढालले बचाएर हिँडथे
आज तिनैको ज्यान दिने मात्र होइनन्
ज्यान लिने दुश्मन पनि छन्-
आज यस्ता धन छ !
आज तिनैको छाती फुलेको छ, त्यही तिनको ढाल छ।
हिजोसम्म रोईरोई जो बाँचिरहेका थिए।
आज तिनै हाँसीहाँसी मर्न तयार छन्।