पर्वत / बैरागी काइँला
घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !
जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि !
उफ ! भाँच्चिएर लडिदिन्छन्
हिमालयका ढाडहरू….
आहाल-आहाल रात छादेर मेरो सडकमाथि ।
आकाशका भित्ता-भित्ता ठाकिँदै बजारिन्छ
प्रतिध्वनिको वज्र-
दौडदै गरेको रेलको छप्परमाथि मूल सडकमाथि !
ऐनाको चोइटाले थापेका रगतका टुक्राभित्र
डिब्बा-डिब्बा किच्चिएका
जिन्दगीका क्षणहरू…
भाँच्चिएको रेलको लिकमाथि
दनदनाउँदो आगोको मुस्लोभित्रबाट
म बटुल्छु, म बोक्दछु…
गोजीभित्र अनि काँधमाथि !
धेरै नानीहरूलाई स्कुलसम्म पुर्याएर
धेरै छोराहरूलाई सीमान्तको मोर्चासम्म पुर्याएर
धेरै बाबुहरूलाई अड्डादेखि घरसम्म फर्काएर
अब त थाकिसकेका बाटाहरू
अब त दुर्घटनामा टुक्रिएका सडकहरू
हो, यी सब सडकहरू
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको छु !
मेरो काँधमाथिबाट
मेरो प्रेमको घनत्व र आस्थाको उत्तापले
पाकेको जिन्दगीको लास
चोइटा-चोइटा किरणहरूमा चोइटिइएर खस्दछ
मेरो प्रत्येक पाइलाभित्र : मेरो सडकमाथि !
आँखा खस्दछ : यौटा रात सकिन्छ
अर्को आँखा खस्दछ : फेरी अर्को रात सकिन्छ
पैताला खस्दछ : एक खुट्टा बाटो भरिन्छ
पन्जा खस्दछ : पृथ्वीदेखि आकाशसम्म पुल टाँगिन्छ
दुई हात अँगालो खस्दछ :
असीमित आयतनमा धरतीमाथि
अनि इतिकासमा फेरि यौटा अर्को फाटक उघ्रिन्छ !
फाटकको निधारभरि
मानिसको जानकारीका निम्ति
धुपीका सिन्के पातहरूका माझ-माझ
हाँगाको आँख्ला-आँख्लाका आँखाहरूका अक्षरमा
समयले दौडी आएर लेखिदिन्छ : सूचनाका केही पङ्क्तिहरू
स्वागत छ- पर्वतारोहीलाई,
कलिला-कलिला पैतलालाई,
प्रत्येक जिन्दगीलाई !
अब प्रत्येक मान्छेले सुरु गरुन्
आ-आफ्नो यात्रा फेरि यहाँबाट,
यस फाटकबाट !
सूर्यलाई भरीकन
तेस्रो आँखाको ठूलो घुम्ने बल्बभित्र
उत्तानो समुन्द्रलाई दुवै हातमा टेकिदिएर
उभ्भिएको फाटकको टाङमुनिबाट
सार्क र ह्वेलको मत्स्य-आक्रमणबाट
तारतारी समुद्रिक डाँकूहरूको लुटपिटबाट
धनमाल र बचाएर जहाजलाई
अनि औंलामा उचालेर गोवर्द्धन
आफै पनि यस फाटकबाट
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुनछु !
अजकाल सपनामा सधैं
म पर्वत चढिरहेको हुन्छु !