पलक झारी जमिन कोरी घुम्टोमा लुकेर / म. वी. वि. शाह
केटा-
पलक झारी जमिन कोरी घुम्टोमा लुकेर
दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ?
केटी-
झुल्केको घाम परेको सुनी सुन्दर प्रभात
दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ ।
केटा-
उषाको बेला शीतको थोपा केशमा जडेर
सिम्रिक टीका गाजल कोर्ने त्यो मान्छे कस्तो छ ?
केटी-
दिनमा सधैँ सम्झना बनी आँखामा ढुकेर
रातमा पनि सपना हुने त्यै मान्छे जस्तो छ ।
केटा-
ओठको लाली घामको पारी साँझको सोरेर
फूलको बास सासमा झार्ने त्यो मान्छे कस्तो छ ?
केटी-
दु:खमा आज आँशुको थोपा मायाले पुछेर
सुखको भोली देखाइदिने त्यै मान्छे जस्तो छ ।
केटा-
साउने झरी भदौरे पानी कात्तिक पूर्णिमा
सृष्टि बीच शृङ्गार भर्ने त्यो मान्छे कस्तो छ ?
केटी-
शरद् मास अधुरो आश फूलेको वसन्त
कलिला मुना गुराँस थुङ्गा त्यै मान्छे जस्तो छ ।
केटा-
हिमाली हावा झरेका जल पहरा चिरेर
छहरा बनी सहारा दिने त्यो मान्छे कस्तो छ ?
केटी-
बर्खाको रात बादलु च्याती जूनले निस्कँदा
चाँदनीबाट छल्केको रात त्यै मान्छे जस्तो छ ।
केटा-
सुरेली खेली चन्द्रलोकबाट पृथ्वी झरेर
जुनेली घाम छरेर जाने त्यो मान्छे कस्तो छ ?
केटी-
परेली बीच मुटुको माझ लुकेर बसेर
सुटुक्क आई ओठमा चुम्ने त्यै मान्छे जस्तो छ ।