पाण्डित्य युग / विष्णु न्यौपाने
खेत बारी माथि थियो पण्डितको घर
सम्मानका सार थिए गाउँ वरपर ।
जैले देखि उनी बसे त्यो गाउँमा आई
उन्नति भो गाउँ भित्र शिक्षा दीक्षा पाई ।।
ज्ञान थियो ध्यान थियो मान थियो त्यहाँ
उज्यालो वा ज्योतिपुञ्ज धाम थियो त्यहाँ ।
गुरुकुल, ज्ञानकुञ्ज ईश्वरीय वास
त्यै घर थ्यो गाउँलेको श्रद्धा भक्ति आस ।।
सारो गारो सुख दुःख पर्दा आइदिने
मीठो चोखो रुखो सुखो पनि खाइदिने ।
यसो गर उसो गर सल्लाह नि दिने
सफा बने उनी त्यसै गाउँ सफा हुने ।।
शुद्ध सफा चोखी नीति पाण्डित्यको बानी
लगीदिन्थे मीठो चोखो पण्डितलाई छानी ।
काम जति गाउँलेले सबै गरिदिन्थे
पण्डितका ज्ञान साटी मान थपिदिन्थे ।।
युग यौटा आज त्यसै कोल्टे फेरिंदैछ
पण्डितको पण्डित्याईँ झुठो हेरिंदैछ ।।
छुचो भयो रुढी भयो पण्डित्याइँ सीप
युवा भन्छ बालौं आफैं आत्म भित्र दीप ।।
नबुझिने भाषा सुनी मिल्ने छैन पुण्य
विश्व हिड्ने बाटो चिनौ ईश्वर हो शून्य ।
भन्छ युवा ढोंगी धर्म, आलस्यको हैन
विज्ञानको चिनौ युग अध्यात्मको हैन ।।
सबै देश दौडिएर दूरी पार भए
हामी हिँड्यौं उल्टो बाटो सबै अघि गए ।
भन्दै गाउँ उल्टी हिँड्यो युवा नारा पछि
साथ दिने साथी छैन पण्डितका अघि ।।
युग मन्द फेरिंदैथ्यो घडी पला गरी
मन्द गति विष बन्यो द्रुतताको अघि ।
यान्त्रिकता बढ्दै गयो भौतिकता भित्र
जडताले आध्यात्मचैं खायो भित्र भित्र ।।
युगजस्तै धर्मशास्त्र नफेरिँदा पनि
दासताकै बीज फल्छ सन्तानमा पनि ।
बग्नुपर्छ पानी जस्तै धरातल हेरी
पण्डितको युग फर्की आउन सक्छ फेरि ।।