Last modified on 20 अगस्त 2020, at 23:12

पारिवारिक जीवन / ज्याक प्रिभेर / सुमन पोखरेल

आमा स्वीटर बुन्छिन्‌
छोरो युद्धमा जान्छ
उनी यसलाई नियति ठान्छिन्‌। आमा यस्तो ठान्छिन्‌।

अनि बाबु ?
बाबु के गर्छन्‌ नि?
उनको आफ्नै व्यवसाय छ
उनकी श्रीमती स्वीटर बुन्छिन्‌
उनको छोरो युद्धमा जान्छ
उनको आफ्नै व्यवसाय छ
उनी यसलाई नियति ठान्छन्‌। बाबु यस्तो ठान्छन्‌।

अनि छोरो चाहिँ ?
छोरो चाहिँ के ठान्छ त?
ऊ केही पनि ठान्दैन।त्यो छोरो।
छोरो:- उसकी आमा स्वीटर बुन्छिन्‌,
उसका बाबुको आफ्नै व्यवसाय छ
र ऊ युद्ध लड्दैछ।
बाबुकै व्यवसायतिर लाग्नेछ ऊ पनि
युद्ध सकिएपछि।

युद्ध चलिरहन्छ
आमा स्वीटर बुनिरहन्छिन्‌
बाबु आफ्नो व्यवसायमा लागिरहन्छन्‌
छोरो मारिन्छ
उसको काम सकिन्छ।
बाबु र आमा उसको चिहानमा जान्छन्‌
उनीहरू यसलाई नियति ठान्छन्‌।
बाबु र आमा।

जीवन चलिरहन्छ
बुनाइ, युद्ध र व्यवसायको जीवन
व्यवसाय, युद्ध, बुनाइ, युद्ध
व्यवसाय, व्यवसाय, व्यवसाय
चिहानको जीवन।