पिकदूत / मोतिराम भट्ट
ए पंछी अब जा चटाक् हुनगई सम्चार यो भन्दियेस्
यो सम्चार भनी दिइस् पनि भने लाख् वर्षसम्मन् जियेस् ।
यी मेरा सब हाल हेरि उडिजा मेरा जहाँ प्राण छन्
यसमा कत्ति फरक् नपारि जति ह्याँ भन्छू भनेस् त्यो त सुन् ।।१।।
क्यै कालसम्म प्रचण्ड ग्रीष्म ऋतुको गर्मी सह्यो अङ्गले
मन् आजित हुनगो र दु:खि म भयें त्यै गर्मिका रङ्गले ।
छारो उड्न गयो जसै दशदिशा साह्रै अँध्यारो भयो
एक्ली के गरुँ थर्र मन् हनुगयो गर्मी पनि गैगयो ।।२।।
वर्षाका ऋतुमा वडा विरहमा एक्लै बसें झ्यालमा
बादल्को दल अइ घेरिन गयो अकाश ख्याल्ख्यालमा ।
त्यै बेला बिजुली चमक्क चमकी वाहाँपछी गर्जदा
मन् धुकधुक् हुनगो यसोरि जब ता ती पापिले विसदा ।।३।।
निस्के हाँसहरु ऋतू शरदको बेला भयेथ्यो जसै
वर्षा भो भनि चन्द्रले अमृतको वर्षा गराये तसै ।
प्यारो चन्द्र भनी चकोरचरिले चूँ चूँ गरी ज्यू दियो
प्रीती चन्द्रकोरको त्यस बखत् हेरीनशक्नू भयो ।।४।।
चौथा नम्बरको ऋतू रस लिई हेमन्त आयो जसै
यो मन् ता उहि गैगयो र रसमा चुर्लुम्म डूव्यो तसै ।
चीसो चल्छ बतास आश मनको मेरो पटक्कै भयो
भेट्घाट्को मनसूव हो तर यत्ती धोको रही गैगयो ।।५।।
थर्थर् कम्प गराइ ह्यूँ छरि शिशिर् सिर्सिर् गरी पाल्नुभो
साह्रै कम्प भई थकित् हुनगयें यस्तै ह्वाल्ल गर्नुभो ।
रुई दूइ कि फूइ येति तिन थोक् चाहिन्छ जाडामहाँ
दु:खी छू रुइ फूइ छन् त पनि ता दूई नहूँदामहाँ ।।६।।
आयो हेर वसन्त पक्षि त तँ छस् साक्षी यति भन्दियेस्
आफ्नै हुन् अहवाल् भनेर तयिंले सुन्दा खुबै मन् दियेस् ।
ती नै हुन् भ्रमरा कतीकति उडी पूल्माथि आई झुले
हाम्रै यो भ्रमरा निठुर् हुन गयी फूल् छाडि काहाँ भुले ।।७।।
जान्ने हुन् सब धर्मशास्त्रकन ती विद्धान् विवेकी ति हुन्
पानी दूध् पिक काक चिन्न चतुरा आफै मनैमा बुझुन् ।
यै सोधेस् तिनिका अगाडि हुनगै त्यो बुद्धि काहाँ गयो
पाकेको फल फालि जानु परदेश् कुन् धर्मको शास्त्र हो ।।८।।
कस्तो प्रीति थियो भने त उहिले एक् ज्यू भई बस्तथ्यौं
अत्तर् चन्दन केवरा घसि दुवै एकान्तमा पस्तथ्यौं ।
माया मारि पटक्क जानु परदेश् वाहाँपछी बिर्सनू
चस्की चस्कि अनङ्ग पस्छ तनमा मेरा भने यै हुनू ।।९।।
भरदिन् बित्छ यसै बसेर घरमा झोक्रीरहन्छू उसै
यो मन धीर रहोस् भनीकन रहें स्थिर् हुन्न पापी कसै ।
ए पक्षी यति ता नबिर्सि तं भनेस् तिन्का अगाडी सरी
माल् पाईकन हुन्न चाल नभई के गर्नु यस्तै परी ।।१०।।
कस्तो हेर वसन्त पक्षिहरुको प्यारो भयेके छँदो
पालूवा रुखलाई रस् फुलविषे छर्की बराबर् दिदो ।
ऐले प्राण नभै मलाइ बहुतै बाधा दियो के गरुँ
एक् ता मो अवला अनी विरहिणी कसका म भर्मा परुँ ।।११।।
नाच्छन् प्वाँख फिंजारि रुखमनि मयूर् हेर्छन् चकोर् चन्द्रमा
भदभन् शव्द गरीवरी रस झिकी झुल्छन् भ्रमर् फूलमा ।
जूही वेलि चमेलि फुलहरुको सोख् हेरि मनमा म ता
साह्रै दिक्क भयें हरे जुनि गयो यस्तै रहेछन ति ता ।।१२।।
परदेशका रसले अघाइ कहिले घरपट्टि फिर्नन् भनी
आशामा परि गैगयें दु:खि भयें के सूख पायें अनी ।
यो पापी मन स्थिर नभै अझ पनी आशा दरशको गर्यो
भोलीभोलि भनी भुल्यो अब भने भारी दगामा पर्यो ।।१३।।
ती आफ्ना भनि भन्नु व्यर्थ हुनगो के हुन्छ आफ्नू भनी
मेरै प्रीति भयेर हुन्न बरु क्यै चाहिन्छ व्हाँ’को पनी ।
फोस्रो गन्थन ह्याँ’ कती गरुँ म ता ए पंक्षि ! तैं साँचि भन्
माया एकतिरको कि दूइतिरका अम्सल भनी भन्दछन् ।।१४।।
भन्छन् भन्न त धर्मशास्त्रहरुले पाप् पन्चपातक भनी
यी पाँच् पातकदेखि बढ्नि अरु पाप् क्यै छैन भन्ने अनी ।
के जान्नन् ऋषिले विपद् विरहिको यस्तो हुने हो भनी
बातो पातकिलाइ केहि नहुने के धर्म होला अनी ।।१५।।
बाँच्नाको अब आश छैन मनमा ऐल्हे कि भोली भरे
कस्ता निर्दयि जातका अब म ता फेला परेछू हरे
परदेशमा रहँदा यसोरि अहिले पारे अरेको मरे
काहाँसङ्गम भनूँ मलाइ तिनिले गर्नू नगर्नू गरे ।।१६।।
सुन एक थोक पीक पक्षि भन्छु म यहाँ मेरातरफ्को सँदेश्
तैले झट्ट उडी गयेर तिनिका कान्मा सुटुक्कै भनेस् ।
आफ्नू हालहवाल लेख्नु त कता लेखिन्न ढोगभेट् पनी
लाज् लाग्दैन यसोरी बस्न परदेश् पत्थरसरीको बनी ।।१७।।
याहाँ छू भनि क्यै सँदेश् पनि नदी आफ्नू बिरानू हुने
मैले खोजिन की भनेर रिसले जोर्छन् कि क्या बूझ्ने ।
ए पंक्षी ! तिनिका अगाडि हुनगै सोधेस तँ धीरा बनी
फूल्ले खोज्छ भ्रमर् यस्को जवाफ् द्यौ भनी ।।१८।।
ए पंक्षी ! सुकुमारजत्तिकि म छू तैंलाइ थाहा भयो
दोस्रो भर्खरको उमेर रहँदा कस्तोरि पिर्नेछ यो ।
तेस्रो फेरि विछोड पर्नु मउपर् भेट् हुनु आशा गयो
जो होचो उसका परेछ मुखमा घोचो भने झैं भयो ।।१९।।
तिर्खा जस्कन लाग्छ पोखरि पनी त्यै खन्छ भन्ने उखान्
सुन्दामा नखनी भयेन मनमा लाग्यो गरुँ के बयान् ।
खुब खन्खान गरेर पोखरि पनी खासा तयारी भयो
प्रेमको डोरि चुँडयो गरुँ अब कसो घल्चा विपत्ता भयो ।।२०।।
पापको भोग नभोगि हुन्न भनि मो खुब् धैर्य गर्छू अनी
मेरै कर्म दुखी रहेछ अरुको दोष छैन कत्ती पनी ।
पण्डितहेरु त सुख्ख दु:खकन ता घुम्छन् भनी भन्दछन्
मेरा ता सुख क्यै रहेनछ कि क्या दु:खै फगत फिर्दछन् ।।२१।।
यो मेरो नउनीसरी अति नरम् ज्यू वज्र जस्तो भयो
कस्तो रुप हिऊँ कपुरसरि भै फुस फुस उडी गैगयो ।
ढाँटेको रति छैन जान मनमा गर्नू कुरा के अनी
ए पंक्षी ! यति दुर्दशा भनिदिनू भन्थिन् प्रियाले भनी ।।२२।।
के गर्ला अब चन्द्र पापि थपडा पाई कलङ्की भयो
आँखामा दरिने सबै मृगहरु उन्को वनीवास् भयो ।
पैल्हे प्राण छँदा थिये यति कुरा ऐल्हे यि वैरी हुनन्
निर्धी देखि मलाइ यस् विपतमा हेरी खिसी गर्दिनन् ।।२३।।
सारा यो दुनियाँ पराइ हुनगो यस्तै छ खेल् कर्मको
भन्नू कस्कन तीविना यि अहवाल् जान्ने छ कुन् मर्मको ।
सद्धै साँझ भयो कि पूर्वदिशिमा यो निर्दयी चन्द्रमा
अमेत सब्कन छर्कि मै उपरमा बिप्लाइ छर्कीदिन्या ।।२४।।
जल-धारा, भ्रमरा, चरा र छहरा सारा मलाई भने
पोल्नुबाहिक सूख छैन रत्तिभर् हा ! दैव ! यो के हुने
भतभत पोल्दछ ज्यू जसै घसि घसी चन्दन् लगायो जसै
छट्पट् छट्पट् व्हैरहन्छ पसिना दुइ पट्टि वग्छन् तसै ।।२५।।
एक्लै बस्नुपरयो भनेर मुनियाँ ल्यायेर पालें पनी
बोल बोलुला मुनियाँ सुनेर मन क्यै शीतल त होला भनी ।
काहाँको मुनियाँ कहाँ विरहिणी आगो र पानी भयो
यो मेरो मनको लहर् पनि यसै खिस्रिक्क भै गैगयो ।।२६।।
निस्के मत्त मयूर् वसन्त ऋतुमा प्वाँख फालि नाचूँ भनी
नाच् हेर्नाकन कोइली तिमिहरु आयौ बगैंचा बनी ।
याम ताल्को सुर कण्ठमा घरि ढुकुर् डुगडुग गरी बोल्दछन
मूखी ता मुखि नै भये म दुखिको मन्लाइ यी पोल्दछन ।।२७।।
के के भनूँ विरहका दुखका म कूरा
जे जे थिय उति भनें अझ हुन्न पूरा ।
ए पंक्षि कोइलि फगत भर पर्छु तेरा
वाहाँ गईकन भनेस् यत्ति बात मेरा ।।२८।।
क्यै चीज छैन न त भारि छ बोक्नुपर्ने
केवल सँदेश छ उता गइ भन्नुपर्ने ।
तिनले सुनुन् कि नसुनुन् तर जानु तैंले
भन्नू भनें यति कुरा दुखका अहीले ।।२९।।
यसरि जब तहाँ त्यो पंक्षिले वात सून्यो
ढिल नगरि उडीगै सोहि जग्गा पुगीगो ।
पतिकन अह्वाल तेस् सुन्दरीको सुनायो
पति पनि घर आये हर्ष भारी तहाँ भो ।।३०।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)