पीडाको वन्दना (दुई) / नाज़िक अल मलाइका / सुमन पोखरेल
किन आउँछ हामी भए ठाउँ यो पीडा?
कहाँबाट आइपुग्छ यो?
वर्षौँदेखि
लडीबुडी खेल्दै हाम्रा सपनाहरूमा
सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई;
तिर्खाएका मुख रहेछौँ हामी
र यिनै पीडालाई पिएर तिर्खा मेट्ने गर्दारहेछौँ।
कसै गरी तलाउसम्म पुर्यायौँ घिसारेर त्यसलाई हामीले
कुनै सुस्केरा नलिई, आँशुको एक थोपोसमेत नचुहाई
टुक्र्यायौँ त्यसलाई
र छरिदियौँ तरङ्गहरूमा,
मिसाउने छैन त्यसले अबदेखि हाम्रो खुशीमा दु:ख
बरू लुकाइदिनेछ सुस्केराहरूलाई हाम्रा गीतका पछाडि;
भन्ने ठानेर।
त्यसपछि आइपुग्यो
आफन्तहरूले हाम्रा लागि भनेर क्षितिजपारबाट पठाएका
सुन्दर सुगन्धित गुलाफको फूल।
त्यसबाट आशा थियो हामीलाई
खुसियाली र हर्षपूर्ण सन्तुष्टि देला भन्ने,
तर त्यसले त झनै विक्षिप्त गरायो
र आँशुसँगै बग्न थाल्यो पीडा
पीरहरूले कुँदिएका हाम्रा औँलाहरूमा।