भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पुल / तीर्थ श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बालापन
र यौवनबीचको
पुल कस्तो हुन्छ ?

उमेरको हाँगो
हल्लाई–हल्लाई
मच्चिइरहेकाले
झारेका फूलहरूजस्तो हुन्छ ?
 कि
आकाशका ताराहरू टिपेर
समयको उदास छातीमा
टाँगिदिएपछिको समयजस्तो हुन्छ ?

बालकहरू
र यौवनबीचको पुल कस्तो हुन्छ ?

आकाशमा
जून उदाएपछि
देखिने ताराहरूको मुस्कानजस्तो हुन्छ
कि मङ्सिरमा भेटिने भकारीको उन्मादजस्तो हुन्छ ?
अथवा अरू के जस्तो हुन्छ ?

म सत्य भन्छु
सत्यको उज्यालामा
मलाई हेर्ने मन छ
बालापन र यौवनबीचको
पुल कस्तो हुन्छ ?