भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

पूर्वसङ्केत / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माटोमाथि जन्मिएर
माटोमाथि बाँचेर
माटाका धेरै–धेरै गीतहरु गाउँदै
माटाका धेरै–धेरै गाथाहरु सुनाउँदै
आकाशसित पिरतीहरु लाउन खोजेछु
माटाका थुम्काहरुले आकाशमा आफ्नो उचाइ नाप्न खोजेछु
माटाका उर्वर सपनाहरुले आकाशमा आफ्नो गहिराइ जोख्न खोजेछु
एकमुठ्ठी माटो किन्न नसकेको असफलतामा
एक टुक्रा ढुङ्गा गाड्न नसकेको निर्वलतामा
निरीहताको कालो बिष
कतिखेर ओँठमा ‘निकोटिन’ भएर उम्रिएछ
कतिखेर फोक्सोमा दलिनको कालो खम्बा भएर ठाडिएछ
समयको चक्र निरन्तर घुमिरहेछ
मलाई अहिले आफ्नो हैसियतको पूर्वसङ्केत मिल्दैछ ।

म कसरी रमाउन सक्छु र ?
केवल अरुले हाँसेको माटोको सौन्दर्यमा
म कसरी गाउन सक्छु र ?
केवल अरुले गाएको ढुङ्गाको ऐश्वर्यमा
जाबो एउटा अनिश्चित दिनको लागि
जाबो एउटा कपटपूर्ण सम्झौताको लागि
खोल्सा–खोल्सीमा उम्रिएका बेनाम झारपातहरुले
फोहोर मैलामा जीवन पाएका किटपतङ्गहरुले
मैले सधैँ–सधैँ बिलौना गरेको माटोको आयतन नापिरहेछन्
शंका छैन
मेरो नामको ल्याप्चे कुनैपनि बेला सजिलै च्यातिन सक्छ
बाक्लो कुहिरो लागिरहेछ
घाम अघि नै डुबिसकेको हुनुपर्छ
माटाका गीतहरु टाढा–टाढासम्म गुञ्जिरहेछन्
मलाई अहिले आफ्नो हैसियतकोा पूर्वसङ्केत मिल्दैछ ।

बरु मान्छे हुनुबाट अभिशप्त
बरु हैसियत नहुनुबाट परित्यक्त
कुनै बन्सोजस्तो स्वतन्त्ररुपले
फुल्न मन परेको छ — ऐलानी पाखाहरुमा
कुनै कटुसजस्तो स्वतन्त्र रुपले
फल्न मन परेको छ — ल्याप्चे नलागेका जङ्गलहरुमा
कुनै बरफजस्तो स्वतन्त्ररुपले
चिसिन मन परेको छ — सेता हिमालका आँखाहरुमा
शंका छैन,
अब म अँध्याराहरुमा रमाउन सक्छु
अब म कुहिरोहरुमा गाउन सक्छु
मान्छेहरुबाट पर
मान्छेहरुबाट फरक
बन्सो, कटुस र बरफहरुमा
सारङ्गीका तारभरिभरि रेटिइदिन सक्छु
न्याउलीका रोदनभरिभरि भाका टिप्न सक्छु
स्खलित प्रतिज्ञाहरु
मलाई अहिले आफ्नो प्रश्नहरुको उत्तर मिल्दैछ
मलाई अहिले आफ्नो हैसियतको पूर्वसङ्केत मिल्दैछ

घात प्रतिघात सहनु पर्दैन रे
चेतना कन्चटमा दुख्दैन रे
ढुङ्गा र माटाका गीतहरु
बन्सो, कटुस र बरफहरु
म बुझ्दैछु
‘निकोटिन’ ले खिया परेका प्रतिज्ञाहरु
‘ट्रयांकुलाइजर’ ले धमिल्याएका सपनाहरु
कुखुराको छातीमा झुण्डिएको
कुखुराको मुटु
एउटा आफ्नै प्वाँख खस्दापनि खुम्चिन्छ रे
मैले घात प्रतिघातलाई
मेरो नाममा च्यातिएको ल्याप्चे कागजलाई
धेरै पल्ट थरथर काँप्दै बेहोशीमा पिइदिएको छु
माटाका गीतहरु टाढा–टाढासम्म गुञ्जिरहेछन्
मलाई अहिले आफ्नो हैसियतको पूर्वसङकेत मिल्दैछ ।