भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - चतुर्दश सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
आजई फेरि यज्ञका साथ
स्वयंवर ठाँटको ।
संयोगिताको स्वयंवर आज
नल र दमयन्तीको कथा
स्वयंवर छाँटको ।

(२)
एक जना छैन बिर्सन्छु साँच्चि
डिल्लीका पृथ्वीराज ।
उनको मूर्ति ढोकामा राखी
द्वारपाल बनाई उपहार जाती
कालोमा
राक्षस,
सिस्नोका माला
लाएर शेखी जयचन्द धाकी
बन्दथे अधिराज ।

(३)
गएको थियो उनलाई निम्ता
चन्दालाई पठाए ।
जयचन्द सोध्छन् सभामा किन
आएनन् तिम्रा पृथ्वीराज भन
राखेर मेरो कदर आज
तिमीलाई पठाए ?

(४)
चन्दाले भन्छन्, "कलिको युगमा
उचित लागेन ।
वीरका मणि पृथिवीराजलाई
यो राजसूय यज्ञको काजलाई
हाजिर हुन जो अधिराजलाई
डिल्ली र अजमेर दुवैका ताजलाई
सुहाउँदो कुरा राजाका बाजलाई
कीर्तिले बल्ने राजाका माझलाई
अनेक समर जितेका ताजलाई
प्रतापको जो यो सर्कारको साजलाई
अनुपम यस्ता दासका दास
सुहाउनुपर्ने राजाका माझलाई
अखण्ड यशका ती त्यस्ता वीर
सबका राजका शृङ्गार हीरा
बनाउन चित्त शिरका प्रभु
सर्कारलाई बिन्ती
छ अनगिन्ती
भनेर झुक्दो वीरको शिरले
मलाई यहाँ पठाइबक्स्यो
बिग्रेला भनी मनको पीरले
विनयसाथ नझुक्ने शिरले
मैत्रीको भावमा राखी दान
डुब्ला कि भनी कीर्तिको भाव
सर्कारको प्रताप त्यसै छ ठूलो
वहाँको भक्ति त्यसै छ धूलो
नपरोस् भनी दुई राजमा मूलो
वहाँको कीर्तिले सर्कारको यज्ञ-
को बाटो ताकेन ।
जसको कीर्ति सकल धर्ती
गाएर थाकेन ।
संसारका जेता, वीरका नेता
पृथ्वीका चन्द्र जय र ज्योति
धरणी राजका अघिका हुन्छन्
अरूका जय दिनका चन्द्र
फुस्रा भई रातमा मात्र
फूर्तिले चम्कन्छन् ।
पृथिवीराज जगत्‌का ताज
सर्कारका अघि अरूका त्यसै
व्यर्थमा गम्कन्छन् ।
चौदिशा जसका पाएर कीर्ति
घमण्ड गर्ने वैरका राजा
जो मूर्ख टिम्कन्छन् ।
तिनलाई संसार उपहास भर्छ
तिनको ताज धूलोमा पर्छ
तिनको फूर्ति भूइँमा झर्छ
तिनको ईर्ष्या जलेर मर्छ
जो त्यस्ता वीरको मूर्तिको अघि
द्वेषका भावका
ईर्ष्याका भावका
विषालु पङ्घा लिनका लायक
भएर हम्कन्छन् ।
यो कलि युगमा
सुनमा छ कलि,
सच्चाइ भन्दा झुट्टाइ भली
अँधेरी बत्ती धिपिक्क बली
सर्कारका दाँजा नहुने राजा
गर्वले गम्कन्छन् ।
अँधेरी हुन्छ उज्यालो बत्ती
रूखमा लाग्छ हिउँमा पत्ती
शून्यले बोल्छ यत्ति र उत्ति
त्यस्ता ती राजा सर्कारका अघि
नरकलाई तम्सिन्छन् ।
कलिको युगमा, मानिसको दु:खमा
विरक्ति भन्दा, आसक्ति बेस छ
म बरु हुन्छु वैरागी साधु
देख्दिन फोस्रो कीर्तिमा जादू
भनेर हुकूम भएको मैले
सर्कारमा ल्याएँ प्रभुको अहिले
विनय बिन्तीमा ।
नबुझ्ने बीचमा रिसराग हुन्छन्
सर्कारको विमल हृदयलाई
को मूर्ख भन्ला तिनले छुन्छन्
वैरका भाव पोषण गर्ने
मूर्खका मात्र सिउर हुन्छन्
वीरले नामलाई सत्यले धुन्छन्
फूट र छूटहरू ता हुन्छन्
मूर्खका गिन्तीमा ।
ऊच र नीच जो माफ पाऊँ
हामीझैँ मूर्ख उचाको नीचा
नीचाको उँचा जान्दैनौँ राम्रो
खालि छ भक्ति स्वामीमा हाम्रो
द्वेष ईर्ष्या भन्दा भक्ति नै राम्रो
संसारका ताज
हे अधिराज !
उँचाको नीचा बयान गर्ने
उपमा राम्रो नपाई झर्ने
कविको ऋण थोरैमा तिर्ने-
हरूलाई माफी होस् !
प्रेमले मैले आइन भन्ने
गरेर बिन्ती
तँ अनगिन्ती
क्षेमका क्षमा मगाई आएस्
स्वर्गका इन्द्र ऊँचाका ऊँचा
गिराउने होइन, प्रेमको वार्ता
भनेर सुनाएस् ।
यो अधिराजको सन्देश प्रेमको ।
अर्थमा साफी होस्
उँचा र नीचा हे वीरमणि ।
दासलाई माफी होस् ।”

(५)
जयचन्द राजा आफ्नो त्यो कीर्ति
सम्झेर गाएको ।
फुलेका नाक, लिएका चाख
चन्दाले पनि राख्यो है धाक
खिल्लत दिए गाउनेछ कीर्ति
संसार छाएको ।
भनेर खुशले केही भित्र फुल्दा
नाराजपनको चेहरालाई
भन्दछन् “हाम्रो
रहेन मान
उनी नै नआई
सक्दछौ भने “आउनैपर्छ ।"
भनेर तिमी करलाई ल्याऊ
म तिम्रो कदर, गरूँला भाउ
उ एक जना भएमा आर्कै
यज्ञको मेरो रहन्छ भाउ
न फुस्रो बनोस् यो मेरो नाउँ
ल्याऊ है करलाई।"
भनेर काँधमा दिएर धाप
डिल्लीमा पठाई ।
आउला भन्ने आशमा निराश
छन् आज दिनलाई।

(६)
रीसले आज पित्तलको मूर्ति
द्वारमा लगाए ।
उपहास रूपको अनुहार खूबको
सिस्नोको माला
झुकेको चाला
"ठीक भयो ?" भनी प्रश्नले धेरै
रजौटा हँसाए ।

(७)
बदलेर भेष, नक्कली केश
अरू नै देशका ।
राजाझैँ भई पृथीवीराज
हाजिर छन् है सभामा आज
सुनेर भन्दा मुस्मुसी हाँसी
वीरको दिलले नमानी लाज
मूर्खको देखी सजेको साज
विदेशी भेषका ।

(८)
स्वयंवरलाई बज्दछ बाजा
दुक्ढुक मुटु बन्दछन् राजा
डटेका शिंगारहरूले ताजा
गलामा लागी सीक्सीको बस्छन्
आज छ मेरो भनेर माला
देवलाई इष्ट सम्झेर मिष्ट
सपना बनाई मनमा इष्ट
पिउँदो छन् कोही लहडका प्याला
कोही छन् भित्री चिन्ताका ज्वाला
श्रीपेचलाई मिलाउन लागे
रुमाल झिकी मुहार पुछी
गम्भीर चमक मुखमा झिकी
आकाशकी तारा दरबारद्वारा
ओर्लन लागिन् भनेर सारा
बसाइ गरी फूर्ति र हाँकको
मोहनी मन्त्र-
हरूका जन्त्र
लगाई भित्र
सुन्दरका चित्र
अप्सरालाई स्वर्गको जिती
मिलाउँला भन्दा पृथ्वीका थिति
जुँघालाई चट्ट
पारेर कट्ट
मदनका मूर्ति बनुँला भनी
वर्नेका नजरमा ।
श्रीपेचमा थपी जुहारत राम्रा
पोशाकमा डट्छन् यी राजाहरू
गुलाफजलमा नुहाई राम्रा
हातमा औंठी हीराका झलझल
सामुका नजर झल्काउन झलझल
जीतका रहरमा ।
आज छ आर्कै जयको मेला
रूप र रवाफ दुवैको बेला
ईश्वरको को दया ! नगरून् हेला !
वरने प्रहरमा ।
सन्सनी चल्छ सुनेर बाजा
भीडका शहरमा ।

(९)
चरले बाजे धूँ धूँ र धूँ धूँ
जाहेरी तुरही ।
म भन्छु हेर्थे स्वर्गमा लोभी
आज ता सुर ही ।
झिल्मिल झल्मल रेशम सल्मल
सितारा टल्मल आँखाका चलमल
कुरङ्गीहरू सिँगारी चलमल
मुस्मुस हाँसी लाजले कर्की
आपस नजर गाजल कोसे
लावा र अबीर किस्तीले छर्की
फूलका डाली गएर फर्की
कसोरी बहूँ कसोरी देखाऊँ
लाजको मुहार षोड़श शृङ्गार
भनेझै केही अलमल गर्दै
बीचबीचमा हातले
आपसमा झर्की
दरबारमा निस्किए ।
सुन्दर ताँती रंग बहुभाँति
कोही छन् धानी कोही छन् नीला
वसन्ती कोही पोशाकमा जाती
छानेका परी
पृथ्वीमा झरी
आजको भाग्यमानीको पूजा
गर्नलाई बेसरी ।
लोभ र प्यास दुवैका आँखा
चनाखा पारी ढुक्ढुक्ले हेर्छन्
रजपूत-केशरी ।
 
(१०)
रजपूत कुलकी मोहनी फूलकी
रतीझैँ राम्री डाल र डोलकी
स्वर्गमा हुने अनन्त मोलकी
मृदुल अधरे ।
परीको तापले रेखेकी भौंमा
लचक्क लच्काई मसिनो रेखा
कालामा हुने सुन्दरले छोई
स्वर्गका दृश्य खुलेका आँखा
दुईको ढकनी उज्याला माथि
कमल निधारे ।
गुलाफी गाला, पत्तीझैँ छाला
जुन फूल मुहारे ।
फुलेको हो कि कुँदेको हो कि
भनेझैँ दोधारे ।
हरियो बैंश तारबुट्टे रेशम
रत्नले झल्मल ।
कहिले कमल, कहिले गुलाफ
भएर अघि लाजले बढ्छिन्
हंसझै ढलमल ।

(११)
स्वयंवर माला
थुङ्गा र थुङ्गा
कमल करमा ।
बढ्दछिन् तिनी
प्रियतम चिनी
पहिराउँला भनी हृदयभित्र
राज गर्ने वरमा ।
 
(१२)
खोज्दछन् आँखा पृथिवीराजलाई
सामुमा नदेखी ।
सुकेर हिँड्छिन् अगाडि तिनी
फूल पयर भुइँ टेकी ।
राजाका शिर सरमले झुक्छन्
नमिल्ने देखी चूक र चूक् छन्
टुटेका तारले दिल मुकमुक् छन्
झरेर सब शेखी ।
नदेखी तर पृथिवीराजलाई
छेउमा पुगी छोडेर लाजलाई
द्वारको मूर्ति देखेर उनको
भो मुहार खुल्दो बदली जूनको
पित्तलमा देखिन् मूर्ति है सुनको
त्यो माला पहिराइन् ।
अग्लेर केही फूर्तिकी देही
आँखामा चमक विजय ले हि
आत्माको जित्ने सत्यले संसार
मिथ्याका फन्दा छाडेर एकवार
जीवनको हल सत्यको बल
देखाउने वीरा बनेर तल
छकपारी सारा
पसीना धारा
पुछेर रीसका आँखाले हेर्ने
बाबुलाई देखाई ।
 
(१३)
फिलिङ्गो आगो आँखामा जाग्यो
रुद्रका नजरमा ।
उग्रको रीसले गर्जेर उठे
छोरीका कसूरमा ।
 
(१४)
ठीक त्यसै बेला एक वीर उठे
झटपट बोकेर ।
ली शाहज्यादी धोजमा राखी
'लौ म हुँ चौहान पृथिवीराज
लखेटदेऊ सक्नेले आज
भनेर सुनाई कुर्कुच्चा ठोकेर ।

(१५)
तरबार नङ्गा झल्मल झल्के
लौ उठयो खबरदार ।
खलबल ठूलो मच्चियो त्यहाँ
कोही चढे घोडा दगुरे कोही
कोही सोध्थे खोज्दा नजरले कहाँ
सवारका पहिला
तेजीमा चढी
हट् हट खटखट्
गरेर चढे
रजपूत ती सरदार ।
अश्वले लग्यो बिजुली बनी
संसार की सुन्दर सार।
 
(१६)
लगाम कर्के
घोडा आँग फड्के
फूर्तिले गड्के
रिसल्ला पड्के
कड् कड कड्के टापका मनि
ढुङ्गा र फलाम ।
न कहीं अड्के
बिजुली सड्के
पड्केर घोडा पैयाँमा कड्के
बिजुली लगाम ।
टिपेर लगे सवारलाई टाढा
बाईपङ्के घोडा वेगमा छाडा
जय र चन्दका रीसमा गाढा
गड र गड हड र बड तड र तड
कटटटट
खट र खट
झिल्काई झिल्का झिलिक्क पारी
बिजुली सवार मिलिक्क पारी
गिजि र मिजी मुखमा फिंज
बाटामा फड्की तेर्सेका चीज
खोलालाई तरी
छचाप्ल्याङ्ग गरी
वन र खेत तीरलाई नापी
कोही ता गए जगतै परी
फुटेर मुटु नै ।
तैपनि तेजी चौहान वीर
बिजलीभन्दा विचारझैँ छीटा
पछाडि राखी ती शाहज्यादी
सबभन्दा छीटा नै ।
भएर गए नदेख्ने कोही
आखिर भए
फर्केर आए सय र सय
आखिर निराश ।
आँखामा ज्वाला रीसले काला
जय र चन्द हारले हाला
भए ती हताश ।
मौकामा पछि पाउलास् भनी
ठक्कर ठूलो मनमा गुनी ।
के गरी त्यल्लाई गिराऊँ भनी
स्वर्ग र आकाश ।

पन्धौं सर्ग लेख्ने परिकल्पना
महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूले
गर्नुभएको थियो, त्यसबारेमा उहाँले
लेख्नुभएको छ- (यहाँ एक सर्ग दुई
वीरहरूको आत्मोत्सर्गको उल्लेख हुन
सक्छ।
तर यो लेखिएन, र श्यामदास
वैष्णवज्यूले अरू सबै सारी उहाँबाट
आद्योपान्त हेरी सपारी प्रकाशनार्थ
प्रस्तुत गर्नुभएको हो।
साझा प्रकाशन