पृथ्वी-दिवसमा / मनप्रसाद सुब्बा
झिसमिसेमा 
पृथ्वीको निधारबाटै 
आकास आङ तन्काउँदै उठ्छ । 
पृथ्वी भएकैले आकास उठ्छ यसरी 
तल्तिर धरती र समुद्र नहुँदो हो 
आकासको मन केमा अडिन्थ्यो कुन्नि !  
घाम जन्मिनलाग्दाको टाइगरहिल 
अनि त्यो ट्याक्सी ड्राइवर जो 
एक झप्को निद्रापछि अँध्यारोमै उठेर 
सनराइज हेर्ने सिजनर्स लिएर जाने गर्छ 
उभन्दा पहिल्यै उकालै-उकालो हिँडेर
पुगिसकेकाछन् त्यहाँ तातो चिया बेच्ने दिदी-बैनीहरु 
अलि मुन्तिर 
सिन्चेलको जङ्गल अझै छ 
त्यसैले त्यहाँबाट देवी-देउता उठिबास लागिहालेको छैन 
हामीलाई हमेशा मायाले हेर्दै 
कहिले नथाकी उभिरहने कञ्चनजङ्घाले  
हाम्रै लागि पर्यटकहरु निम्त्याएर केही खर्च गर्न लाउँछ 
तह तह डाँडाहरू टेक्दै
आँखाहरु तल गैह्रीतिर ओर्लिन्छन्
त्यहाँ खोलामा रनेहरु आधारातसम्म जाल हान्छन्
बगरमा भने 
आफ्नो दुःखलाई टुक्रा टुक्रा फुटाएर 
थुम्का-थुम्का गिट्टी बेचे तापनि 
कहिल्यै फुटाइनसकिएको दुःख थुप्रो लागेकैछ छेउमा 
पाखामा खेतबारीको गरा-गरा देखेर 
बाबुको निधारको याद आउँछ     
अनि ती हिलाम्मे बाउसे र रोपाहारहरु
जसको कुत्कुत्याइमा 
धरती साह्रै उन्मत्त भएकी हुन्थी 
खेतबाट आइरहेको गीलो माटोको एक तमासको गन्ध 
अझै थाह गरिरहन्छु 
अनि फेरि मलाई आमाको छातीको याद आउँछ..
आमाको छातीमा के के पो फुलेन-फलेन र !
	
	