प्रतिरूपसँगको मेरो प्रेम / सानु शर्मा
कति प्रेमिल
निराकार स्वरूपसँगको मेरो प्रेम
कति वास्तविक
आफूलाई हराइदिने स्वर्गीय कल्पनाहरू
कति मोहक
मन भित्र-बाहिरका हरेक वस्तुहरू ।
अपुग भएका
तर टन्नै पुगेकाजस्ता रहरहरू
र मनका बातहरू,
पूरा भएका
तर कहिल्यै नसकिएका लामा कुराहरू
र छोटा रातहरू।
नसमातेको तर
अनुभूत गरेको हात
कहिल्यै नछोएको
तर आफू लुक्न पाएको अँगालो ।
कुनै कामनाबिना
कामनै कामनाले भरिएको
आकारविहीनसँगको यस सामिप्यमा
साथमा नभएरै पनि
सँगै हुनुको तरङ्ग छ,
कहिल्यै नदेखेरै पनि
सम्पूर्ण देखेजस्तो प्रभाव छ
कहिल्यै नभेटेरै पनि
एकआपसमा समाहित हुँदाको रोमाञ्च छ ।
आनन्द छ देख्दै नदेखेकोसँग रिसाउनुमा
र, कतै नभएकोले मनाएपछि
मानिदिनुमा पनि ।
सन्तुष्टी छ, पर्खनुमा
र नभेटनुमा पनि,
तृप्ति छ, सबै चिज भएर
केही नहुनुमा पनि
र
आनन्दको उत्कर्ष छ
केही नभएरै
धेरै कुरा हुनुमा पनि,
कामना गर्न डराएका सुखहरू
सोच्दै नसोची यत्तिकै पाउनुमा पनि ।
कति तृप्तिमय
सामिप्यको संवेदनले बाफिएका घडीहरू
प्रेमको सम्मिलनमा वर्षिएका पलहरू
प्रेमोत्कर्षको अनुभूतिमा समेटिएका क्षणहरू ।
कति पूर्ण,
आफ्नै प्रतिरूपसँगको यो प्रेम ?
प्रेम गर्न
कोही भेटिनैपर्छ भन्ने कहाँ रहेछ र ?
कुनै स्वरूप नै चाहिन्छ भन्ने पनि के रहेछ र ?