प्रमुख अतिथि / रमेश क्षितिज
महानगरको कुनै व्यस्त सडकको किनारमा
उभ्याइएको होडिङ्र बोर्डजस्तै
विराजमान छु –मञ्चको एक कुनामा
सामुन्नेमा गाइरहेको छ पछिल्लो पुस्ताको युवा गायक
लोकलयको कुनै रोमान्टिक गीत
मैले बिताएको हुँ एक जीवन –गीतहरूका लागि
रिदम रिदममा हिडेर
मैले खर्चेको हुँ एक उमेर
डबलीमा
वाचनालयमा
र रेडियोको पुरानो स्टुडियोमा
हामीले खेलेका हौँ केही धार्मिक नाटक
र गुन्जाएका हौँ पुराना भाकाहरू
तथापि क्षीण हुँदै गएको छ स्मरण शक्ति
तर सम्झिन्छु –पहिलोपल्ट प्रेम गरेकी स्वास्नीमानिसका
सुन्तले ओठहरू
र छुट्दाको उसको उदास अनुहार
प्रथम प्रकाशित कविताका केही पङ्क्तिहरू
उमेरमा गरेको सङ्घर्ष
र समयअगावै हिडेका पुराना मित्रहरू
के बोलूँ म, खै के बोलूँ
भासिदै गएको स्वरको पुल तर्न नसकेर
अस्पष्टताको नदीमा खस्छन् शब्दहरू
यो माइकसम्म पुग्न पनि डग्मगाउछन् पाइलाहरू
यिनै हातहरू हुन् जो उठ्दथे
कुनैबेला कुनै कुरुप शासनको विरुद्धमा
यो त्यही हो आवाज जो बर्साउथ्यो प्रहार
र मच्चाउथ्यो हाहाकार
मेरो एक एक पाइलामा उठदथ्यो कम्पन कुनैबेला
र आँखाको ज्योतिबाट बग्दथ्यो एक किसिमको उज्यालो
हँ अम्वरजी ! कसरी हिड्दथ्यौँ
हामी रातको सुनसान सडकमा
कसरी गर्दथ्यौ तात्तातो बहस आधुनिक गीतमाथि
उही नै त हो सबैभन्दा धनीमान्छे
जससंग छन् उन्नत र मधु सम्झनाहरू
कसैले सम्झिएला नसम्झिएला
तर हाम्रो पनि छ पसिना मिसिएको
भोलि फुल्ने वसन्तमा
त्यसो त म मात्र कहाँ र ?
प्रत्येक मान्छे हो अतिथि यो परिवर्तनशील संसारमा ।