प्राणघातक अनिद्रा / डानियाला भिकू / सुमन पोखरेल
रातभर, नियालिरह्यो अनिद्राले मलाई,
सोचाइका एकएक कुनादेखि
कोठाका कुनाकुनासम्मबाट ।
अनेक छटपटी र मौन भएका गीतहरूले प्रतिउत्तर दिँदै
हेरिरहेँ म उसले विचारहरू बढारेर लगेको
प्राप्तिहरूलाई मेटाउँदै लेख्दै गरेको
र ऋतुहरूलाई विनास गर्दै गरेको ।
सृष्टीका छोपिएका ठाउँहरूमा औँला झारेर
मेरो उजाडता भरि मडारिइरह्यो संवेदन
ब्यालेटको अन्तिम दृष्यमा जसरी ।
रातो पहिरनमा थिएँ म, अनिद्रा कालो वस्त्रमा ।
प्रेम गर्ने मेरो अधिकार दावी गर्न
कालो हाँस जसरी
आफैँमा फर्कने बाटो मुस्किलले भेट्टाएर
मेरो प्रेमीसँग मैले आकाशको जून मागेँ
र उसले ल्याइदियो मेरा लागि ।
मेरा केशमा फूलका पत्रहरूको ताराझैँ
पहेँलो गुलाफ सिउरिएर
मेरा आखीँभौँबाट लेखियो -
"जीवन अविच्छिन्न प्रेम हो!"
असङ्ख्य पुतलीहरू !
असङ्ख्य उडानहरू !
मेरा परेलाभरिभरि ।