भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्राप्तिको लेखाजोखा / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


 
प्राप्तिको लेखाजोखा गर्दै छु म
ऐनाअघि उभिएको छु
बुढी औँला नचाउँदै फिस्स हाँसिरहेछ
आफ्नै आकृति ऐनाअगाडि।
 
बीभत्स मृत्युशृङ्खला
क्रमशः चुलिँदै छ सगरमाथा छिचोल्न
समय सुनाइरहेछ
एकपछि अर्का नरसंहारका कथाहरू
मान्छे रगतको रातोपनअघि
लालीगुराँस लजाइरहेछ फक्रन।
 
प्राप्तिको लेखाजोखा गर्दै छु म
गुम्बाअघि उभिएको छु
ससाना पोकापन्तुरा बोकेर
बाहिर निस्किरहेछन्
शान्तिप्रेमी बुद्धहरू।
 
घप्लक्क महँगीको शीतलहर ओढेर
मौन छ बस्ती
अभावका रागहरू
गुन्जिरहेछन् गाउँगाउँमा
सम्साँझै झ्यालढोका थुनेर
मुर्दा शान्ति अनुभूत गर्दै छन्
गोर्खासन्ततिहरू।
 
प्राप्तिको लेखाजोखा गर्दै छु म
चौबाटोबिच उभिएको छु
आर्त सुसेल्दै अघि बढिरहेछन्
आशावादी मनहरू।
 
यस्तै हुन्छ
चेतनामा सङ्कटकाल लागेको बेला
समय बन्दुक बोकेर उभिएको छ ठिङ्ग
निरीह कविताका हरफहरू
भयातुर दौडिरहेछन्
सडकहरूमा ... ...।