प्रीति रोपूँ म पल्पल / कलानिधि दाहाल
न जानी पाइला चाले चल्न सक्तैन जीवनी
दुःखको गहिरो गर्त भित्र यो घुम्छ फन्फनी ।
तातो तनावले पोल्छ पानीभित्र पसे पनि
छट्पटीले सधैँ घोच्छ फूलमाथि बसे पनि ।
कहाँ यो पिल्पिले पीडा कहाँ उदात्त कल्पना
कहाँ यी जनका घाउ कहाँ ती मनका मुना ।
कहाँ लहरको चर्को नित्य निनादनादका
कहाँ ती हरिया झोक्का पिउने स्वादस्वादका ।।
बिझाए पनि आफैँमा सहनाका सजावट
कमला पिपिराभित्र हुन्नन् क्यै पनि आहट ।
रुझाए पनि आफैँमा रुनाका रसिला पन
त्यहाँ जस्ता कहाँ हुन्छन् पिञ्चे समाजका क्रम ।।
यो भीडमा सधैँ हल्ला चल्लाको हुन्छ दुर्गति
सधैँ त्यो शान्तिको भीड सद्गतिमा सबै मति ।
नराम्रो बन्नुको सोख नराम्रो नहुने कतै
उही भाव उही भाका उही चाल जताततै ।।
तिम्रै प्याला सजाएर म भरुँ जल टल्पल
सिञ्चदै शिरमा भित्र चेतना छरुँ पल्पल ।
चेतनाका सबै बत्ती बलून् सर्वत्र झल्मल
परेलीमा सजाएर प्रीति रोपूँ म पल्पल ।।
अनि यहाँ पनि हुन्छ प्रेमको अंश हुर्कने
लोलिन्छन् क्रोधका आँखा र उस्तै बाहु सुर्कने ।
खाली हुन्छन् कुरुक्षेत्र बस्ती बसाउँला त्यहाँ
त्यो बेला प्रेम बाँडिन्छन् उत्ति उत्ति त्यहाँ यहाँ ।।
छ र क्यै जिन्दगी ज्यूने प्रेमप्याला बिना पनि
छ र क्यै जिन्दगी ज्यूने प्रेमपत्र बिना पनि ।
झम्झमे झरीको जस्तो भिजूँ प्रेम झरीभरी
फैलाऊँ व्योमले जस्तो प्रेमप्याला सधैँभरी ।।
नभेदभावको स्वाङ न स्वाङ हानफानको
न हतार कतै हुन्छ स्वादले खानपानको ।
न रवाफ कतै देख्दा चिरिच्याट्ट जवानको
तैपनि विजयी योद्धा यो नै विश्व बिहानको ।।