भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मैले सहेको थिएँ
एकतर्फी प्रेमको चौतर्फी यातना
सहेको थिएँ असंख्य पीडा  !

थाहा हुनुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ  !

मैले सहेको थिएँ
बिना वस्त्र नाङ्गो शरीर
सहेको थिएँ अनन्त जाडो  !

दुख्नुभन्दा पहिले थाहा थिएन
दुख्दोरहेछ घाउ  !

पुग्न हिँडेको थिएँ
नपुग्दै फर्कनुपर्ने ठाउँमा
नभएको बाटो
नरहेको गल्ली / दोबाटो र बस्तीमा  !

थाहा हुनुभन्दा पहिले थाहा थिएन
थाहा हुनुपर्ने धेरै कुरा  !

जे होइन त्यही
जे छैन त्यही
छायाँको छायाँ खोज्दै
म यहाँ आइपुगें  !

आकाशभन्दा अलिमुनि
धर्तीभन्दा अलिमाथि
यतै कतै म आइपुगें  !

मैले जे जे सम्झनुपर्ने हो त्यही त्यही बिर्सिएँ
मैले जे जे बिर्सनुपर्ने हो त्यही त्यही सम्झिएँ  !

यादहरूको पहाडमा उभिएर
तिमीलाई मैले सम्झिएँ  !

- त्यहीँ थियो प्रेमको मृत देउराली
जहाँ मैले आँशुका केही फूलहरू चढाएँ !


०००