Last modified on 20 अगस्त 2020, at 15:44

प्रेमपत्र / सिल्भिया प्लाथ / सुमन पोखरेल

उति सजिलो छैन
आफूमा भएको परिवर्तनको व्याख्या गर्न।
अहिले म ज्यूँदी हुँ भने, उतिखेर मरेकी थिएँ।
तापनि, यसबाट नखल्बल्लिइकन उही ठाउँमा उभिरहेकी छु
एउटा ढुङ्गो जसरी, स्वभावैले।

तिमीले मलाई एकरत्ति पनि सारेनौ, अहँ-
न त आशाविहीन टोलाएका मेरा आँखालाई
नीलनिसृत दृष्य र तारा समात्नका लागि
फेरि आकाशतिर फर्काउन नै दियौ।

कुरो बेग्लै छ।
सेतो हिउँदको राँटो बिरिएको ठाउँमा सुतेँ म,
कालो खोल ओढेको एउटा सर्प कालै ढुङ्गाहरूबीच गुँडुल्किएझैं।
कुशलताका साथ कुँदिएका लाखौँ अनुहारमा कुनै आनन्द नलिई
मेरा ढुङ्गे गाला पगाल्न
हर क्षण तम्सिरहेका मेरा छिमेकीहरू जसरी
तिनीहरूले गह भिजाइरहे,
लाटो प्रकृति देखेर रोइरहे देवदूतहरू,
तर सकेनन्‌ तिनले मलाई फुल्याउन, र
ती आँशुहरू जमिरहे।
मरेका प्रत्येक टाउकाले हिउँको भाइजर लगाएका थिए।
मुठ्ठी पारिएका औँला जसरी घुम्रिएर सुतिरहेँ म।

पहिलो कुरो त,
म पातलो बतास र स्प्रिटझैँ कञ्चन शीतजस्ती थिएँ;
भावविहिन अनेकौँ ढुङ्गाहरू बाक्लै सुतेका थिए;
मैले बुझ्न सकिनँ, तिनीहरूलाई के गर्नुपर्ने हो भनेर।

म टल्किएँ, मुसोजत्री भएँ र खुलेँ
तरल भई पोखिएर
चराहरूका खुट्टा र रूखका हाँगाबीचबाट
बाहिर निस्कनका लागि।
झुक्किएकी थिइनँ म,
त्यतिबेलै चिनिसकेकी थिएँ तिमीलाई मैले ।

रूख र चट्टानहरू छायाविहिन भएर टल्किए
मेरा औँलाको लम्बाइ काँचजस्तो बढ्यो।
म रेशम कीराको प्यूपा झैँ पलाउन थालेँ,
एउटा हात र एउटा गोडो, अनि हात र गोडो।
ढुङ्गाबाट बादल भएर माथिमाथि उक्लिएँ।

अहिले म
फेरिएको मेरो आत्मालाई हावामा तैर्‍याउँदै
हिउँको चाक्लाजस्तै शुद्ध
ईश्वरको एउटा अवतार भएकी छु
ईश्वर भएकी छु।

यो एउटा उपहार हो।