भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

फेरि नयाँ वर्ष / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



धेरै विस्मातहरू/अलिकता हर्ष
अनगिन्ती आरम्भहरू/मात्र एकाध उत्कर्ष
घिटिकघिटिक बुद्ध/गान्धी र क्राइस्टहरू
अनवरत सङ््घर्ष
र एउटा
अर्को नयाँ वर्ष।
 
नयाँ वर्ष
कसैलाई ह्विस्की र बियर
कसैलाई ठर्रा र ह्याङओभर
मान्छेलाई मान्छेका
थोरै साथहरू/असङ्ख्य विश्वासघातहरू
स्वागतमा केही छैन
सिवाय शून्यका सुसेलीहरू
मात्र केही मुर्झाएका बेलीचमेलीहरू
विगतले दिएका केही रद्दी कागजका ठेलीहरू
र उही
धेरै विस्मातहरू/अलिकता हर्ष
अनगिन्ती आरम्भहरू/मात्र एकाध उत्कर्ष
घिटिकघिटिक बुद्ध/गान्धी र क्राइस्टहरू
अनवरत सङ्घर्ष
र एउटा
अर्को नयाँ वर्ष।
 
नयाँ वर्ष
एउटा रित्तो क्यानभासको प्राप्ति
अर्को एकवर्षे जीवन भोगाइको समाप्ति
वर्तमान
– फगत् असिञ्चित खडेरीहरू
– केवल नियमको आडमा गरिएका झेलीहरू
भविष्य
– एक हूल अस्मिता चिथोरिएका चेलीहरू
– प्रतिपद मृत्युका कोसेलीहरू
अन्ततः नयाँ वर्ष
धेरै विस्मातहरू/अलिकता हर्ष
अनगिन्ती आरम्भहरू/मात्र एकाध उत्कर्ष
घिटिकघिटिक बुद्ध/गान्धी र क्राइस्टहरू
अनवरत सङ्घर्ष
र एउटा अर्को नयाँ वर्ष।