फोनमा रोइरहेकी केटी / रमेश क्षितिज
रातमा
अर्कोतिर फोनमा रोइरहिछ एउटी केटी
सम्झिन्छु उसका मुस्कुराइरहेका आँखाहरू
उज्यालो अनुहार र उसको गहिरो भावुकता
र उसले माया गरेका मानिसहरूले दिएका आघातहरू
अनायास हावामा लहराउँछ हात
मानौँ– म पुछ्न खोजिरहेछु उसको आँसु टाढा,
धेरै टाढाबाट
हामीले खिचेथ्यौँ तस्बिरहरू चिनो भनेर
साटेथ्यौँ स–साना उपहार र आ–आफ्ना कथाहरू
अनि विदाइमा हल्लाउँदै हातहरू आत्मीयताले
हामीले भनेथ्यौँ– भेट होला नि एकदिन
अवश्य भेट होला .........
भन्छे रुँदै रुँदै– लगातार परिरहेछ पानी
रोइरहेछ आकाश
सम्झना बर्सिन्छ यो झरीमा र छातीमा जन्मिन्छ ऐँठन
कसैलाई गुमाउनुको पीडा, कसैलाई सम्झिनुको पीडा
बुझ्दिनँ उसका एकएक शब्दहरू
तर बुझ्दछु भाषा रुवाइको र त्यो वाक्य आत्मीयताको
“फेरि भेट्न पाउँछु कि पाउँदिन तिमीलाई”
अर्कोतिर फोनमा रोइरहिछ एउटी निर्दोष केटी
यता सपाट कुनै काठजस्तो छातीमा
चलिरहेछ
धारिलो करौंती.......... !