रोपेको थिएँ 
फूलको बिरुवा दिलको बारीमा 
फुलोस् सुगन्ध फैलाएर मग्मगाओस् 
एक रहरलाग्दो जिन्दगी बनोस् । 
यो बिस्वालाई फैलाउनुथ्यो 
नदीपारिको बस्तीमा 
तर, मैले पाइला राख्नसाथ 
भाँचिएर टुका- टुका हुँदै 
खस्यो नदी माझ पुल 
बग्यो छालहरूसँग तरङ्गिदै 
यात्राका आनन्दमय अनुभूतिहरू । 
भावशून्य भएर उभिरहेँ 
पारिपट्टिको क्षितिज नियाल्दै 
नदी किनारमा | 
सोचें 
यहीँ पहाड उक्लेर 
जिन्दगीको फूल फुलाऊँ । 
हरेक खुड्किलाहरूमा थिए 
अवरोधले भरिएका ऐँझेरू 
बिछ्याइएका काँडे तारहरू । 
चढ्नु थियो पहाड | 
कहीँ जमेको हिउँको ढिस्को आ
गाले पगालेर बगाउँदै 
कहीँ आगाको राप सहेर 
सल्केको ढडेलो निभाउँदै 
चढ़ें पहाड । 
म शिखर पुगेकै दिन 
भत्कियो, गर्ल्याम्गुर्लुम थुप्रियो 
नदी किनारमा पहाड !!! 
अझ, म थाकेको छैन 
ओइलाएको छैन बिरुवा । 
अब मैले 
पारि तर्ने पुल बनाऊँ कि 
माथि चढ्ने पहाड, 
माथि चढ्ने पहाड बनाऊँ कि 
पारि तर्ने पुल ? 
०००