भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाँच्न खोजिरह्छु / हरिभक्त कटुवाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अग्ला-अग्ला हिमाली शिखरहरुलाई
सुन-चाँदीको जलप लगाइदिन
आफ्नै घाम र जून भए पुग्छ हामीलाई
हाम्रो आकाशभरि ।

हो, यहाँ मैले त एउटा आफ्नै आकाश पाएको छु
आफ्नै धरती पाएको छु – हिमाल पाएको छु
कुनै दिन सपनामा मात्र पाएको सगरमाथा
आज बिपनामा पनि पाएको छुः
त्यसैले फुक्का छोडिदिएको छु आफ्ना आकाङ्क्षाहरुलाई
ती फैलिंदै जाऊन मेचीदेखि महाकालीसम्म
चुलिंदै जाऊन् तराईदेखि सगरमाथासम्म ।

उफ ! ती पट्टाइलाग्दा दिनहरु !
जो केवल विडम्बना मात्र बोकेर आए जिन्दगीमा !
बिसाइदिएर ती पीर सबे मेरै सगरमाथाको शीतल छहारीमा
हाँस्न खोजिरहेछु प्रत्येक थुँगा गुराँस जस्तै
बाँच्न खोजिरहेछु तिनै जिउँदा सास जस्तै –
ज-जस्ले आफैँलाई चिन्न सके ।