बाँधेको काठ : भ्वाइलिनको स्वर / ईश्वरवल्लभ
फेरि पनि आज हात फैलाएर,
आगो केवल आगो
समाएर
निहुरिएको पर्वतको झुकाइमा
काँध थापेर
विश्वलाई अँगालोमा,
यहाँ, गौतम बुद्ध
क्षणको एउटा धरातलमा
पर, लाओत्सु
प्रत्येक नीला र गहिरा आँखाको कैथेमा
ग्रीसमा इम्पिजेकलस
एउटा रुखमुनि,
सारा संसारको जीवन,
मानिसभरिको बेरेजु ओझल ओरालोमा सखारको घाम
अँध्यारो खोजेर बसेका, अर्धनग्न
नियास्रा समयहरू,
झोक्रिन लाएर !
नबौरिने गरी बास बस्यो मानिसले शुक्रबार पारेर
छाल र आँधी भर्दै
मनभरि गिदीभरि,
आँगनमा आधा संसार
आधी दुनियाँ
फेरि आधा मानिसले नब्यूँझेर कहीँ
बाँकी नउजिलिएको,
नटल्काइएको रोगनले
कहीँ आधारलाई लुकाउँदै
समाउँदै जिन्दगी नउम्कने गरी,
सुकुटी माछा भरेको थालमा
चम्चा र काँटा लिई थुक निल्यो
आधा युगले ।
मानिसहरूले पृथ्वी जित्नलाई
मानिसको अवयवमा आयु बेरिन्छ
लपेटिदिन्छ मृत्यु ।
आयु सकेर जिन्दगीको आएको एक मृत्युमा
गतिलाई छेकेर पर्खाल बनाउँदै,
एक आयु र एक मृत्युमा
मानिसको भित्रसम्म बन्धन
डोरीले बाँधेको मानिस,
मसिको धरातलसम्म नियम
चारदिवारीले छेकेको मानिस,
सधै नियास्रो टीठ
एकोहोरो सधैँको एक्लोपना
लामो सानु सर्प निलिरहेको ठूलो सर्प
किन अस्तव्यस्तता आउँदैन,
धस्किएर धरतीको माटो पर सर्दैन
किन चल्मलाउँदैन, चिहानले बन्द मानिसहरू
जुर्मुराउँदैन 'फेरो' इजिप्टमा किन ?
रोम जल्दैन किन निरोको भ्वाइलिनमा र कविता बन्दैन
किन चुस्दैन दूध बालकले
एकान्त भएर, भित्र पसेर आमामा
सतर्कता यत्रो आमाको काखमा पनि
अनुहारका सबै टुक्राहरू र सिङ्गै जीउलाई
एकै ठाउँमा मिसाएर
ऊ बगी ऐनामा
उसले सोधी- भर्यासङ ओर्लेर
के ऊ राम्री छैन त ?
सङ्गमरमर कपेका आँखा होइनन्
मासुमा पानी छ तिर्खा मेट्ने अझै, उसको
चौध वर्षको बेलालाई तन्काएर आफूबाट
वनभरि उसले पठाई राम जोगाउन लक्ष्मणसित,
त्यसैले पनि 'के ऊ बाँझी भइन त'
किन चल्मलाउँदैन मानिसको यौवन तैपनि ?
कति आफन्त हुन्छन्,
ओथारो बसेका पहाडी बादलहरू
हरेक पन्ना र परिच्छेद सकेर पनि केही नबुझिएको
सिद्धान्तका औँलाहरू चल्मलाउँछन्
अक्टोपस हातमा
विश्राममा अडेसिएका श्रान्त मस्तिष्कहरू
सिमाना च्यात्छन्,
समयभित्र प्रवेश गरेर मानिस निक्लन्छ
मासुमा थुनिएर पश्मिना भैसक्छ मानिस,
मानिस तैपनि सकिँदैन, हजारौँ नाजी लडाइँमा
मानिस सक्दैन उम्कन गेस्टापो
चार पर्खाल,
चारैतिर पर्खाल, खालि पर्खाल
र बन्धन
कति अनिर्वचनीय बन्धन,
कन्शनट्रेशन, मानिसलाई अझै कन्शनट्रेशन
अवस्थितिबाट उक्लेर चियाउन सक्तैन अझै मानिस,
पर्खाल फोर्दैन मानिस
मानिस फ्रेममा बन्द मानिस
फ्रेमबाट पनि उम्कँदैन यहाँ मानिस
किन स्वतन्त्र हुँदैन मानिस
भ्वाइलिनमा अल्झिन्छ स्वर बनेर मानिस
नखुलेको निर्मुक सानु युगमा
काठको सानु शरीरमा ।