बालामुग्धोक्ति / राधानाथ शर्मा लोहनी
कैले पनी नभननू कति लाज मानी
धेरै रहन्न बुझ है भरिलो जवानी ।
भन्नूह्वोस दिदि ! आज कती कुरा भो
छाडेर मान पतिमा किन लठ् हुनूभो ।।१।।
हावा सुगन्ध फुलको उडथ्यो बहाई
सप्फा थियो गगन पूर्ण शशी उदाई ।
भेटाई यै बखत चादर ताननूभो
प्राणेशले, अरु कुरा त रहोस् जती भो ।।२।।
आऊ प्रिये ! नगर वेर भनी मलाई
राखेर काखबिच हात दुवै समाई ।
ती लाल ओठ मुखनेर पुर्याउनूभो
लौ भन्न सक्दिन म ता पछि कुन्नि के भो ।।३।।
पाल्नूह्वोस जसकासँग हाँस-खेल
गर्दा बित्यो दिन उसैसँग गर्नु मेल ।
येती भनें तर मसक्क समातनूभो
भागेर लाज हिंडिगो अनि कुन्नि के भो ।।४।।
बोल्दै नबोलि निउरी म बसीरहेथें
हैरान पार्दछु भनी मनमा लियेथें ।
के लाग्छ अइ जब नेत्र भिडाउनूभो
हे बैनि ! माफ गर भन्दिन फेरि जे भो ।।५।।
पैले कडा मन गरी छलले रिसाई
चुपचापसाथ म बसें तर झट्ट आई ।
हाँसें म कुत्कुति लगाइ जसै दिनूभो
आफैं विचार गर बैनि ! पछी जती भो ।।६।।
स्वाँ स्वाँ गरी पलङमा छलले निदाई
बस्नूभयेछ म त क्यै पनि था' नपाई ।
निर्धक्क चुम्बन गरें तब हाँस्नभो
देखी भुतुक्क म भयें, अनि कुन्नि के भो ।।७।।
हे बैनी ! धन्य रहिछौ नि उसै बखत् मा
गछर्यौ कुरा भनि सुनें प्रियका सँगैमा ।
मेरो त सारिबिच हात पुर्याउनूभो
साँच्ची म भन्छु पछि जान्दिन के कसो भो ? ।।८।।
सारा शरीरभरमा पसिना भिजेको
चुल्ठो फुकी मुख मलीनपना लियेको ।
लाली नदारत, यती सब था' पछी भो
धेरै नसोध अरु जान्दिन के कसो भो ।।९।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)