भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बा / रोशन परियार

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहिलो चोटी बाले
'बा' भन्न सिकाउँदा 'आ' पनि सँगै आउँदो रहेछ
आमाले त्यही 'आ' को पछाडि 'मा' थपिदिइन्
र आफ्नो र बा बिचको सम्बन्धको व्याकरण सिकाइन् मलाई

मलाई भाषा सिकाउने मेरा बा भाग्य विधाता हुन्
मनका कुराको सुइँको पाउने आमा अन्तरयामी हुन्
भाषाकी ज्ञानी हुन् , अक्षरहरूकी जननी पनि हुन्
बाको शब्दकोशबाट 'आ' हटेन
'आ' को पछाडि कहिल्यै 'मा' छुटेन
मलाई शब्दकोषमा भएका तिनै
बाआमा शब्दको सालिकमा
प्राण भरेर जगाउनु छ, ब्युँताउनु छ
अनि एउटा युगको गरिमा बाको काँधमा चढाउनु छ
एउटा युगको महिमा आमाको काखमा हुर्काउनु छ
आऊ सभ्यता र शिष्टताका आदर्श सम्बन्धहरू
बाहाँ जोडेर मित लगाउन चाहन्छु म तिमीसित

मेरा बाले थप्पड लेख्न जानेनन्
तर सयौँ पटक खाएका छन् अघाउने गरि
गरिबीको नाममा, मजदुरीको काममा
अनि आफूसँग भएको इमानको भारी बोक्दाबोक्दा गह्रुङ्गो भएपछि
इमानको 'इ' झिकेर उसैलाई दिए
जसले थप्पडको पछाडि त्यही 'इ' थपिदियो
र दुनियाँलाई बजाउन सिकायो
तैपनि दश औँलाले जदौ गरी उसैको भलो चिताउँदै
आफू दुब्लो शरीर घिसारेर
धर्खरिँदै, लर्खरिँदै राती मेरो कापीसम्म आइपुगे
र थर्थरी काँपेको मसिनो स्वरले सोधे मलाई
इमानको 'इ' हराएपछि के बाँकी रहन्छ छोरा ?
मैले 'मान' भन्न नपाउँदै
मान बहादुर लेख्न लगाए, मैले हतार - हतार लेखिदिएँ
जो मेरा बाको आफ्नै नाम थियो
मैले मानको अगाडि 'सम' थपिदिएँ
र हराएको 'इ' लाई बहादुरको पछाडि जोडिदिएँ
जसलाई हार्दिकताले अभिनन्दन गर्न चाहन्छु म
अहिले पनि
'सम्मान बहादुरी' को भनेर

नाम्लाको पाताले थेप्चिएर
ठसठसी गन्हाउने पसिनाले छ्याप्पै भिजेको
मेरा बाको पेवा टोपीको पसिनाबाट 'प' निकाल्छन्
अनि 'सिना' भन्दै सराप्छन्
रगतको रातो रङ्गमा चुर्लुम्मै डुबाएर
मेरा बाको पेवा टोपीको रगतबाट 'र' निकाल्छन्
अनि बाँकी रहेको 'गत' लाई कहिल्यै वर्तमान बन्न दिँदैनन्
मैले भोगेको झुपडीबाट
पसिनाको 'प' अनि रगतको 'र' मिलाएर जे बन्छ
त्यसको प्रयोग गरी
अबको शब्दकोशबाट
मेरा बाको गरिबीलाई
एक शताब्दी 'पर' फ्याँक्न बाँकी छ
देऊ न अक्षरहरू उधारोमा ईश्वर
मैले बाको एक हरफ जिन्दगी लेख्न बाँकी छ।