बुढ्यौली / विष्णु न्यौपाने
आय आर्जन त्यो प्यारो श्रम शक्ति र सम्पत्ति
रुप सौन्दर्य त्यो प्यारो साथका प्रेम दम्पति
नासिँदा रुप सौन्दर्य प्रेमको मोल नासियो
शक्ति शरीरको घट्ता आँट वा जोस नासियो
भयो दर्बल मस्तिस्क बुढ्यौलीपन चुल्हिँदा
आक्रामक बनी रोग झम्टिँदो बाघ बन्दिँदा
खाएको गाँस पच्दैन खाने स्वाद हराउँछ
लुलो शरीर सानै ती समस्यामा डराउँछ
सुन्दैन जति बोलेनी रिसाइ पनि गर्नु के
राख्तैन मान मर्यादा रोएरै पनि काम के
आफ्नै सन्तानले हेप्छन् नोकर् चाकरले पनि
बिझाइ बोल्दछन् आफ्ना आफन्तै जनले पनि
सिङ्गो शरीर हो आफ्नो बल बुद्धी बुताहरू
सम्पत्ति साथको शत्रु मित्र हो भावना बरु
भावना, स्मृतिमा खेल्छन् साथी सङ्गी अभावका
त्यसैमा बाँच्तछन् आस्था हाँसी रोइ कता कता
घोटेर हाड जोडेका सारा चिज उडाउँदै
थोपर्छन दोषका भारी आफ्नै सन्तानले सधैं
पढेका शास्त्रका बाणी साँच्चै स्वादिष्ट लाग्दछ
नीति धर्म र द्यौताको आस वा त्रास जाग्दछ
मृत्युका मुखमा पुग्दा जान्छ के साथमा भनी
सोचेर प्रश्न उब्जन्छ लोभ, लालस के ? भनी
सम्पत्ति जति हो आफ्नो रहन्छ जहिँको तहीँ
जाँदैन जान्छ ऊ एक्लै टुक्रा बाँस महाँ रही
साँधेको शत्रुले छोड्छन् ज्यूँदै यात्रा तमाम ती
रहन्छन् गोठमा बस्तु करेंसा विच श्रीमती
घाटमा मित्र छोडिन्छन् समाधिस्थलमा तन
उडेरै जान्छ रे आत्मा देखिन्न शून्यमा मन
मनको भोक मेट्तैमा जिन्दगी फाल्नु व्यार्थ छ
सम्पत्ति सुखमा रम्ने जिन्दगी भित्र स्वार्थ छ
सेवा समाजको गर्दै राखी कीर्ति अजम्बरी
मर्ने इच्छा सधैं जाग्छ बुढ्यौली कुलमा तरी