बेथा लागेको सहर / सन्तोष थेबे
मान्छेहरु मात्र सल्बलाउँदैछन्
थाकेका रिक्सावालहरु
सधैजस्तो
आजपनि खाली रिक्सा डेरा फर्कदैछन्
साँझ पर्न लागेको छ
मनोरोगीहरु
दरिद्रहरु
राजनीतिको जुवाघरमा टाट पल्टेर निधार छाम्दैछन्
कुटनीतिको जुवाघरमा टोपी बिर्सिएर तालु छाम्दैछन्
अघिदेखि भट्टीपसल गन्हाइरहेछ
सधैँजस्तै
आजपनि सहर टन्नै मातेको छ
सहर बेहोसीमा बोल्दैछ
सहर बेहोसीमा हिँड्दैछ
सहरले बिल्कुलै होस हराएको छ
गाउँबाट टिपिएका सागका मुठाहरुले सहर ढोकामा ब्युँझने गर्छ
गाउँबाट दुहिएका दुधका ठेकीहरुले सहर ढोकामा ब्युँझने गर्छ
सहरमा कोही छैन
सबै टाढा टाढाबाट सपनाको खेती गर्न आएका छन्
सबै टाढा टाढा सपनाको आली ताछ्न गएका छन्
उही पुराना सोझा मान्छेहरु
उही पुराना पत्रिका पसलेहरु
उही पुराना पोस्टर पम्प्लेटहरु
सुचनापाटीबाट महाराजको मृत तस्वीर निकालिएको छ
सहरमा केही नयाँ छैन
सहरमा म पनि बन्धकीमा छु
एक किलो चामलमा बन्धकी छु
एक पावा नुनमा बन्धकी छु
एक मुठा सागमा बन्धकी छु
भन्दा शरम लाग्छ —
कसको बहकाइमा लागेर बजियाको नाममा भोट हालेछु
सहरमा मेरो ठुलो सपना बिजुलीको लठ्ठामा टाँगिएको छ
सहरमा मेरो ठुलो बाटो सधैको लागि बन्द भएको छ
आजकल म सहरमा सपना बोकेर हिँड्न छोडेको छु
म बन्द छु
म भाडाको कोठाभित्र बन्द छु
म आपैmले लगाएको आग्लोभित्र बन्द छु
आजकल मलाई सञ्चो पनि छैन
डाक्टर स्टेथेस्कोप लगाएर सिटामोल दिन्छ
धामी खरानीमा अछेता फाल्छ
अस्ती नेताले भाषण दिएको सुनेर
एक्कासी तीतो उल्टी गरेको थिएँ
महङ्गी जुलुसमा भुक्लुक्कै लडेको थिएँ
म बिरामी छु
अखबारका ठूला–ठूला अक्षरहरुदेखि डर लाग्छ
अखबारका ठूला–ठूला मान्छेहरुदेखि घृणा लाग्छ
म बिरामी छु
कुनै पक्षघातीजस्तो
कुनै छारेरोगीजस्तो
आजकल म लाटिँदै गएको छु
मरिन्छ कि भनेर
अस्ती सीमानामा देश छाम्न गएको थिए
एक्कासी मुटु खुम्चिएर गाँठो पर्यो
म बसेको सहर पनि टेण्डरमा छ रे
जीउमा सहर छाम्छु — पाउँदिन
जीउमा देश चिमोट्छु — दुख्दिन
जतिजति घाम डुब्दै जान्छ
दरिद्रहरु
मनोरोगीहरु
दन्त्यकथामा राक्षसलेजस्तो अट्टाहासले हाँस्छन्
उतिउति म अररो लाटो हुँदै चिसिन्छु
पर गोधुलीमा एक हुल वस्तुहरु गोठ फर्कदैछन्
फुङ्ग धुलो उडिरहेछ ।