भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

भक्तमाला / भानुभक्त आचार्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।।
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।।

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी।।
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा।।२।।

गयो बालक् काल्को वय पनि उसै बालरसले।
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले।।
भयो वृद्धावस्था अझ पनि भजींदैन मनले।
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले।।३।।

घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले।
घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतिले।।
कृपानाथ् हे स्वामी अब कसरि संसार तरुँला।
कृपा राख्या जावस् नतर त अनाथ् बीच परुँला।।४।।

बडो दुर्लभ् जानोस् भरत भुमिको जन्म जनले।
सहज् मिल्छन् ठाकुर् हरि भजि लिया शुद्ध मनले।।
बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस्।
निरन्तर् श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस्।।५।।

जगत्मा पृथ्वीका अधिपति बडा दौलाथि थिया।
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया।।
निरन्तर यै सम्झी हरि भजि रहोस् शुद्ध मनले।
परन्तू हक् मर्न्यै छ त बटुलि क्या गर्नु धनले।।६।।

कडोरन्का मालिक् अघि पनि बडा वीर्हरू भया।
तिमध्ये जो जो हुन् हरि भजिलिन्या पार् पनि गया।।
मरण्का वेलामा हरिबिु त क्या भर् छ अरुको।
शरण् लेला सो नाथ् अधिपति अजामीलहरुको।।७।।

जगत्मा सब् ढुँड्दै सबकन विचार्या जन पनि।
बडा हूँ भन्याका घरघर सह्याको धन धनै।।
रह्या छन् कालैका वश परिरह्याका जन पनि।
बुझ्याँ मैले सब्को रिपुसरि भयाको पनि मनै।।८।।

मनुष्यै योनीमा यदि हरि भज्यो ता जन तर्यो।
अवश्यै फन्दामा हरिकन न भज्न्या पछि पर्यो।।
जगत्मा यो चाला बुझिकन विचार् गर्नु जनले।
निरन्तर् ठाकर् को चरणकमलै धर्नु मनले।।९।।

भजौँला भन्दैमा कति कति बित्यो जन्म जनको।
मरौँला भन्नाको अझ पनि विचार् छैन मनको।।
अहो दैवी माया बडि बलवती जानि मनले।
विचार् गर्दै गर्दै हरि भजिलिनू भक्त जनले।।१०।।

दया पाऊँ ख्वामित् विनति छ हजुर् का चरणमा।
नलागुन् पाशा फेर् मकन यमराज् का मरणमा।।
दयाले पो छुट्छन् सकल जनका दु:खहरु ती।
उपायै क्यै छनन् कहिँ पनि दया देखि अरु ता।।११।।

भरोसा ख्वामित् को गरिकन रहन्छू दिनदिनै।
सहन्छू सब् आपत् जति जति त पर्छन् छिनछिनै।।
पर्याका पर्न्यै छन् मकन करुणा दूर् हुन गया।
सहज् मा टर्न्यै छन् मकन करुणा पो यदि भया।।१२।।

मुरारे ख्वामित् का चरणतलमा मन् न धरि ता।
बडो दुर्लभ् देख्याँ सकल जनको मुक्ति गति ता।।
विचार् गर्छू क्यारूँ मन पनि बलैले हरि लिया।
दशेन्द्री डाँकूले बिच बिच पसी दु:ख् पनि दिया।।१३।।

न कैल्हे भक्तीले गुरुचरणको ध्यान गरियो।
न ठाकुर् को पूजा गरि तुलसिको पत्र धरियो।।
दया भो ख्वामित् को भनिकन भन्या पार तरियो।
अवश्यै साँचो हो नतर यमका पास परियो।।१४।।

पुकारा गर्दो छू घडि घडि रुँदो छू चरणमा।
दया छे ख्वामित् की म त हर घडी छू चरणमा।।
बिचार् गर्थ्यो क्यारोस् भनिकन दया हुन्छ त पनि।
झलक् पाइ भुल्न्या होस् भनिकन रिसै हुन्छ त पनि।।१५।।

जगत् कोइ जान्दैनन् भनु त सबका बात् पनि भन्या।
पलक् भर् ती योगी अघि सरि बडो ज्ञान कहन्या।।
उनै काम् गर्छन् ता यमपुरि महाँ चोट मिलन्या।
अहो यो क्या ले हो बुझिबुझि सबै लोक भुलन्या।।१६।।

भज्न राम् को ठूलो बुझिकन भजन् गर्नु जनले।
नभुल्नू कैल्हे यस् विषय सुखमा लागि धनले।।
अविश्वासी चोला कति रहन जाला बितिगया।
पछीतो खुप् होला जपतप विवेक् केही नभया।।१७।।

टहल् ठाकुर्जीको अलिकति यहाँ केहि नगरी।
गभीर् संसार् सागर् सहजसित पार् पुग्नु कसरी।।
टहल् ठाकुर्जीको गरि लिन सक्यादेखि तरियो।
विपतका खानीमा नतर सहजै फेरि परियो।।१८।।

अनाथ् को नाथ मै हूँ भनिकन हँसीलो मुख गरी।
हरूँ यस् का पाप् ताप् भनिकन अगाडी पनि सरी।।
कृपादृष्टी नाथ्ले यदि दिनु भया तर्छु अहिले।
कृपादृष्टी वाहेक् तप गरि त पार् तर्छु कहिले।।१९।।

अवीवेकी मूढो त्रुभुवनविषे को छ म सरी।
बिताञाँ व्यर्थै यस् विषयरसमा जन्म यसरी।।
कउन् ठूलो चिज् हो विषयरस यस् पाजि रसमा।
दिञाँ मैले यो मन् बुझिबुझि पर्या मोहवशमा।।२०।।

जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती।
तपस्याको हानी हुनकन गयाको कहुँ कती।।
तपस्या गर्न्या काल् अघि बिति गयो क्यारुँ अहिले।
यसै योनीमा पार् सहज न तर्या तर्नु कहिले।।२१।।

कटीको पीताम्बर् करकमलका ककणहरू।
किरीट् कुण्डल् कौस्तुभ् तुलसि वनमालाहरु अरू।।
बलैले सम्झन्छू दृढ नरहन्या एक् क्षण पलक्।
कउन् दिन् मा देख्छू प्रभु हजुरको सुन्दर झलक्।।२२।।