भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

भगवान. / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ओ असभ्य भगवान !
छिर्यौ नसोधिकन
मनको निषेधित इलाकामा
र मुटुमा प्रेमको बम पड्कायौ ।
हिँड्दै थिएँ
जीवनका कठिन उकालोमा एक्लै
बीचमै अपहरण गर्यौ
र पूरै जीवन फिरौती माग्यौ ।

एउटा लयमा बगिरहने सपनाहरू
कपडाझैं मिलाएर राखेकी थिएँ
छातीको दराजमा
र चाबी लगाएकी थिएँ,
खोल्यौ कुनै चोरलेझैं ।
रहरहरूको बीउ छरेर आँखामा
पर्खाल लगाएकी थिएँ,
भत्कायौ कुनै क्रोधीले झैं ।
म आफै नपौडिएको
आफ्नै हृदयको दहमा,
झ्वाम्म हाम फाल्यौ
र भन्यौ,
'म अब यहीँ आत्महत्या गर्न चाहन्छु ।'

ओ आतङ्कारी
तिम्रा स्मृतिहरूको ओभर डोजले
पागल भएकि छु म,
भन कुन अपराधमा
मेरा रातहरू अपदस्त गर्यौ ?
भन कुन अभियोगमा
प्रेमको लोरी सुनाएर
मलाई आजन्म कैदी बनायौ ?
                                                      
म फन्फनी घुमिरहेको पृथ्वी
तिमी सूर्य
म छङछङ बगिरहेको खोला
तिमी समुद्र
म सुस्साउँदै उडिरहेको हावा
तिमी पहाड
तिम्रो छाती
मेरो प्रेमको पाठशाला ।
तिमीमा पुगेर टुङ्गिने म कुनै अनाम यात्रा ।
विस्थापित गरेर करोडौं भगवानहरू
करङहरूको मन्दिरभित्र
मैले त तिमीलाई उभ्याइसकेछु ।

नित्सेले मारिदियो ईश्वर
मानिसहरू चिन्तित छन्,
तर एउटा आतङ्ककारीलाई
मैले त भगवान मानेर पूजा गरेकी छु ।