भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भीडबाट अनुहार / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भीडमा त्यसैगरी गुमाउँछ मान्छेले आफ्नो अनुहार
जसरी शिशिरमा गुमाउँछ बनपाखाले आफ्नो रङ ।

कोषविहीन प्राणीजस्ता
आकारविहीन अनगिन्तिी टाउकाहरू छन् भीडमा
जो नापिरहेछन् सडकको तापक्रम बारम्बार
जीवनविहीन शरीरजस्ता
गतिविहीन अनगिन्ती पाइलाहरू छन् भीडमा
जो परिक्रमा गरिरहेछन् शक्तिपीठ बारम्बार
घामविहीन दिनजस्ता
अनगिन्ती पुल्ठाहरू छन् भीडमा
जो फैलाइरहेछन् केवल धुवाँ निरन्तर ।

भीडमा मानिसहरूले
हराएका छन् आफ्नो अनुहार, आफ्नो रङ र आफ्नो ब्रह्म
तर लाग्छ- यी सबै हराएकामा
कुनै बिस्मात् छैन मानिसहरूलाई ।

एक जुगदेखि नचाहेरै
हराएको छ भीडमा मेरो अनुहार
हो, हराएको छ मेरो अस्तित्व ।

चुनौती दिन चाहन्छु
यसपालि म यो अनुहारहीन भीडलाई
हटाइदिनेछु यो भीडलाई आफ्नो अनुहारबाट
हो, फिर्ता चाहन्छु यो भीडबाट आफ्नो अनुहार ।

जब अमलेख हुनेछ भीडबाट मेरो अनुहार
अमलेख हुनेछन् धेरै धेरै अनुहारहरू ।