भेट / गोपालप्रसाद रिमाल
पूर्नेको जूनलाई किन पर्खेको?
भेट्ने उनैलाई हो क्यारे,
तिमी उनैलाई उनकै प्रकाशमा देख,
तिमी उनलाई आजै यो औंँसीको रातमा भेट।
आउने त्यो वसन्तलाई किन कुरेको?
तिमीले खोजेको फुल हो र?
उनकै सुवासमा तिमी सास फेर,
तिमी उनलाई आजै यो आएको पुसमै भेट।
तिमी उनलाई आजै यो औँसीको रातमै भेट।
भेटमा ओझाले साइत गाओस् भन्ने छ?
के उनको बोली सुरिलो छैन?
उनको बोलीको लयमा तिमी खालि मुन्टो हल्लाउँदै—
ताल मात्रै दिन सक,
तिमी उनलाई अहिले नै बिनाबाजा नै भेट।
तिमी उनलाई आजै यो औँसीको रातमै भेट।
तिमीले कल्पनामै कैयौंचोटि उनलाई
इन्द्रधनुजस्तो चुनरीको घुम्टो ओढाइदिसकयौ,
मजुरको घाँटी–रङ्गको साटनको चोली लगाइदिसक्यौ,
त्यसैले भेटमा त्यस्तो घुम्टो र चोलो
लैजाने सुर होला,
तर तिमी उनी जस्ती छन् उस्तै नै भेट,
बजार जान बेर नगर।
उनको लाज नै उनको घुम्टो होस्,
तिम्रो अङ्गालोले उनलाई छोपोस्;
साटनजस्तो उनको छाला हेर,
उनी जस्ती छन् उस्तै नै भेट।
तिमी उनलाई आजै यो औँसीको रातमा भेट