भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मन तिम्रो घर भयो / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

किन मन उड्यो मेरो किन त्यस्तो रहर भयो ?
एकपल्ट गरेथेँ प्रेम बाँचुन्जेललाई जहर भयो
 
न रह्यो कुनै ठाउँ, न कुनै मेरो ठहर भयो
झिक्यौ तिमीले मनबाट बिरानो यो शहर भयो
 
कति आँखा जुधेथे दिनहूँ ओहोर-दोहोरमा
एकपल्ट के मुस्कायौ मेरो मन तिम्रो घर भयो
 
कुनै अर्कै धूनमा थिइन्, गुन्गुनाएँ मैले गजल
असर भयो, चलमल भयो, मानिनीको नजर भयो

सुटुक्क पसी हिँड्दैछ्यौ कि तिमी मेरो हृदयमा
मनको सुख्खा वनभित्र खर्खर भयो सरसर भयो

केही इच्छा तिमीले गर्‍यौ, मेरा केही कामना छन्
हेर्दाहेर्दै रहरहरूको एउटा रङ्गिन लहर भयो

के मलम लगायौ त्यस्तो मेरा चोटमा तिमीले
मेरो हृदयको पग्लिएर मेरो नयनभर भयो

सोधिरहन्थ्यो हालखबर मलाई मेरो मनले
मन तिमीले लगेदेखि मसँग बेखबर भयो

तिमी उता कताकता, म छु एक्लै यता यहाँ
भेट हुन नपाउनाले जिन्दगी नै कहर भयो
 
लुकाएर राखेको थिएँ, मुटुलाई छातीभित्र
खै कसरी आगो लाग्यो, हुर्हुर भयो भर्भर भयो

अब त रीस मर्‍यो होला, उनलाई पनि बोला सुमन !
हिँड्नै लागे मलामी मेरा, क-कसलाई खबर भयो ?