मर्निङ वाकमा / निमेष निखिल
मोबाइल अलार्ममा नक्कली भाले बास्छ जब
र, क्रमैसँग बज्न थाल्छन् मित्रमण्डलीका फोन
अनि सुरु हुन्छ हरेक बिहान- मर्निङ वाक ।
मर्निङ वाकमा भेटिन्छन्-
भ्रष्टाचार पचाएर कुखुराका चल्ला कुल्चिने हाकिम साप
थरिथरि धर्मका विज्ञापन जस्ता लाग्ने जामाहरू
यहीँ भेटिन्छन्-
ठुलो पेटभित्र साना नानी बोकेर हिँडेका आमाहरू ।
यतै देखिन्छन्-
बिदेसिएका श्रीमतीका पति
र पतिहरूका श्रीमती
भेटिन्छन् कालो बजारका सेता व्यापारी
अजीर्ण डकारेर थरिथरिका रोग बोकेका बिमारी
अनि देखिन्छन् सहरका सामान्य नरनारी ।
यही बाटो भएर हिँड्छ
व्यस्त बजारका खुद्रा पसलेहरूको लाइन
टिन एजरहरूको प्रेमिल जोडी
यतैबाट हिँड्छन्-
बेकरी आइटम बोकेका साइकल र म्याजिक भ्यान
यदाकदा यतै झुल्किन्छन्
सहरका सेलिब्रेटी र तिनका फ्यान ।
यतैबाट हिँड्छन्-
जीवनभर आधा पेट बाँचेका नागरिक
यतै भेटिन्छन्-
पूर्वमन्त्री र राज्यपालित तिनका सरकारी अङ्गरक्षक ।
यदाकदा मात्र भेटिन्छन्-
सहरका कवि, कथाकार अनि समीक्षकहरू
सबैभन्दा बढी भेटिन्छन्-
आँखामा कालो पट्टी बाँधेर
विकृतिको रेखदेख गर्न हिँडेका निरीक्षकहरू ।
बेला बेलामा यतै झुल्किन्छन्-
सत्तापक्ष र प्रमुख प्रतिपक्षका सानाठुला नेताहरू
अनिच्छित रुपमा यतै भेटिन्छन्-
इमानका थोक तथा खुद्रा क्रेता र विक्रेताहरू ।
सबैसबै छन्,
एउटा सानो र सिङ्गो संसार छ- मानौँ मर्निङ वाकमा
तर बर्र्सौँदेखिको जर्जर बिरामी यो देश
मेरो देश !
यो किन कहिल्यै निस्कँदैन मर्निङ वाकमा ?