मान्छे कविता / निमेष निखिल
फेरेर अनुहारको आवरण दिनदिनै
कुरूप रूप परिवर्तन गर्न खोजे पनि
कलुषित मनबाट गङ्गा बग्न नसक्नुको अर्को नाम मान्छे।
खसेर आफ्नै आँखाबाट पाताल धसिसक्दा पनि
माथि उठ्न खोज्नुको एउटा अथक उपक्रम मान्छे
मान्छेकै विश्वास जित्ने होडबाजीमा
गुमाएर रहेबचेको खिनौरो विश्वास
दारिद्र्य विज्ञापन टाँसेर छातीभरि
हिँडिरहेछ आजको मान्छे।
प्रत्येक दिन हत्या गरेर एउटा उत्साही बिहानको
फेरि अर्को बिहानको निर्विकल्प प्रतीक्षा हो मान्छे
आस्थाको एउटा कहिल्यै ननिभ्ने राँको बोकेर
बस्ती पसेको मान्छे अहँ, फर्केन आजसम्म।
मान्छेकै बस्तीमा हराएको छ मान्छे आज
ऊ मान्छे खोज्न निस्केको छ
मान्छे तपाइँकहाँ भेटियोस्। भेटिनै पर्छ
मान्छे सर्वत्र देखियोस्। देखिनै पर्छ
ऊ मान्छे भेट्न निस्केको छ
ऊ मान्छे हेर्न हिँडेको छ आज।
सहरबजारमा सुस्केरा छन् मान्छे छैन
गाउँबस्तीमा आर्तनाद छन् मान्छे छैन
मान्छेमै पनि खुब खोज्यो मान्छे उसले
मान्छेमा अविश्वासका डङ्गुरहरू छन् मान्छे छैन।
आफै हराएर मान्छेले मान्छे खोज्न थालेपछि
मान्छेबाहेक सबै मान्छेजस्ताा देखिँदा रहेछन्।
स्वजातिलासमा पाइला टेकेर
विजयले मातेका मान्छे पनि छन् बस्तीमा
मान्छेकै नाममा जीवन खर्चेर
देवता बन्ने मान्छे पनि छन् बस्तीमा।
उसको आस्थाको मान्छे आज
निर्घात चुटिएको छ समयद्वारा
उसको विश्वासको मान्छे आज
मान्छे हुनुको बोधदेखि टाढिएको छ।
अब पर्खालहरू भत्किनुपर्छ
मान्छेलाई छेकेर उभिएका पर्खालहरू
अब विचारहरू फेरिनुपर्छ
मान्छेलाई मान्छे रहन नदिने विचारहरू।
उसले मान्छेलाई मान्छे बन्न अनुरोध गरेका थियो
मान्छे देवता बन्न खोज्यो
र दानव बन्यो
पटकपटक मान्छेभन्दा अर्कै केही हुने लालसामा
भत्किरह्यो मान्छे क्रमशः। अझै भत्किरहेछ।
हरेक बिहान उदासी पोतिएको अनुहार देखिन्छ,
मान्छे देखिन्न
हरेक साँझ धोखा टाँसिएको कुटिल हाँसो देखिन्छ
मान्छे देखिन्न।
ऊ कामना गर्छ हरेक बिहान
घामसँगै उदाओस् मान्छे
र नअस्ताओस् कहिल्यै
हामी कामना गर्छौँ हरेक साँझ
जूनसँगै उदाओस् मान्छे
र नअस्ताओस् कहिल्यै।
आशाको अनन्त क्षितिज मान्छे
आस्थाको सिङ्गो आकाश मान्छे
विश्वासको विशाल ब्रह्माण्ड मान्छे
क्रमशः साँघुरिएर सानो
अझ सानो हुँदै गएको छ
मान्छे चुलिएर आकाश छोएको हेर्न चाहन्छौँ हामी
मान्छे भासिएर पाताल गाडिन थालेको छ
मान्छे जिन्दावाद ! का नाराहरू घन्कनुपर्ने हो
मान्छे मुर्दावाद ! को कोकोहोलो मच्चिरहेछ बस्तीभरि
मान्छेको पक्षमा उभिनुपर्ने मान्छे
मान्छेको विपक्षमा उभिरहेछ संसारभरि
कति रोप्छ अझै विषदका बिरुवा मान्छे आफूमा?
विरोधमा चुनौती भएर उभिनुपर्ने औँलाहरू
विद्रोहमा मुठ्ठी भएर ठडिनुपर्ने मुट्ठीहरू
नमस्कारमुद्रामा लाचारी हाँसिरहेछन्।
स्वस्वार्थमा अरूलाई रित्याउने पनि छन् मान्छे
परस्वार्थमा आफै रित्तिने पनि छन् मान्छे
परिचयको अग्लो हिमाल उभ्याएर छातीमा
अचिनारु झैँ हिँड्छ मान्छे सडक सडक
मान्छे फैलियोस् पीपलका हाँगाहरूजस्तै
र बाँढोस् निशुल्क शीतल छहारीहरू
मान्छे मौलाओस् / झ्याङ्गिओस् दुबोजस्तै
र कोमलता ओच्छिरहोस्
पाइताला पाइतालाहरूको नाममा।
बस्तीको अन्धकार च्यात्न
जुन्किरी बनेर अघि बढ्न खोज्यो मान्छे
काला पहाडहरू उभिएनन् तरबार लिएर मान्छेको बाटो छेक्न
तर मान्छे उभियो
निख्लाम सुकेका कण्ठहरूमा सिंचाइ गर्न
शीतल जल बनेर बग्यो मान्छे
हिमाल र वसन्तले स्पर्शित गरे मान्छेलाई
तर पानीमा दूषित कीटाणु बनेर मिसियो मान्छे।
आत्मीयता विनिमयको उत्कण्ठाले
मान्छे बस्ती पसेको मान्छे
मान्छेले थापेको एम्बुसमा पर्न थालेको छ
उपहारमा मान्छेले दिएको गोली लागेर मर्न लागेको छ
झुक्याएर समयलाई उछिनेर
अघि बढेको भ्रम पाल्ने मान्छेलाई
प्रताडनाका पोकाहरू निःशुल्क बाँढिरहेछ समय
लगातार लगातार।
मैत्रीको बगैँचा विनिर्माण गरेर आजकल मान्छे
द्वेषका बिरुवाहरू रोपिरहेछ रातदिन
बन्घकी राखेर चेतना उग्राइरहेछ मान्छे
खोजिरहेछ पर्खालहरूले मन बाँध्न / विचार बाँध्न
सञ्चेतनाको दुर्भिक्ष फैलाएर कोषिका र नसाहरूमा
अविश्वासको तरलता उत्पादन गरिरहेछ मान्छे
अविश्वासको चुलीमा उभिएर
षड्यन्त्रको जाल फालिरहेछ मान्छे, मान्छेका विरुद्धमा
जङ्गली जनावरहरू पालिरहेछ मान्छे, मान्छेका विरुद्धमा।
समयले चेतावनी दिएकै हो मान्छेलाई
मान्छेले बुझेन
उल्टै उच्चताबोधको भ्रममा उत्सव मनाइरह्यो
कोखामा दाँत गाडेर पिइरह्यो
पटकपटक समयले मान्छेको आलो रगत
मान्छे काउकुती लागेको भ्रममा हाँसिरह्यो
सहकाल बनेर मान्छे मझेरी टेक्नुपर्ने मान्छे
अनिकालमा अनुवाद भएर सर्वत्र फैलियो बस्ती बस्तीमा
मान्छे आस्थामा पहिरो भत्केर सधैँ सधैँ
सिकारी समयको जालमा परिरह्यो मान्छे
र पनि मान्छेलाई सम्झाउन खोज्नुहुन्न
ऊभन्दा जान्ने कोही छैन
र पनि मान्छेलाई बचाउन खोज्नुहुन्न
ऊभन्दा बलवान् पनि कोही छैन
अनेक अभिमानका शिखर टेकेर उभिएको छ मान्छे
र भत्किरहेछ प्रतिपल एउटा अकल्पनीय पहिरो
मान्छेका भत्कोसहरूबाट आत्तिएको छ ऊ
भागेर जाने ठाउँ छैन, तैपनि भागरिहेछ भागिरहेछ
वेदनाको सिङ्गो जमात खेदिरहेछ
लखेटिरहेछ उसलाई
मान्छे अनुहारको एक झलक हेर्ने रहर च्यापेर खोकिलामा
ऊ भागिरहेछ। भागिरहेछ।
रोएका आशाहरूको बिस्कुन हालेर बसेको छ मान्छे
लाचारी, निरीहता, निराशाहरूको भेला डाकेर उभिएको छ
कायरताको पहाड उभ्याएर आफैमा घरिघरि
अझै कोलम्बस रहर पालेको छ मान्छेले
चन्द्रमालाई हत्केलामा राख्ने
उभिएर मान्छेको पक्ष / विपक्षमा
हर्षका जिन्दावाद गाउने पनि मान्छे
विषादका मुर्दावाद चिच्याउने पनि मान्छे
दुर्भेद्य पर्खाल छिचोलेर मान्छे मनसम्मै पुग्न। मान्छे बुझ्न
किन बन्न सकेन कुनै यन्त्र / संयन्त्र आजसम्म ?
सोचिरहेछ ऊ।
के विस्थापित रहरहरूको बिस्कुन हालेर
पीडा पोखरीमा डुबुल्की मार्नुको
अर्को नाम हो मान्छे ?
कि स्वघरमै बेघर हुनु अनि
आफूसँगै अपरिचित बनेर
दुर्लङ्घ्य यात्रातर्फको आलस्य पाइला हो मान्छे ?
मान्छे परिचयको गौरवबोध गर्ने मान्छेहरू
अत्यासको अँध्यारोमा
उक्सनै नसक्ने गरी भासिएका पनि छन् यहाँ
नचाहेर अनायासै 'जिन्दगी' भन्ने महायात्रामा
सूर्यजस्तै सर्वव्याप्त परिचित हुन पनि आइपुगेको छ मान्छे
हामीमाथि उभिएको मान्छे हिमाल नाघेर
मनसम्मै पुग्ने धोको छ मान्छेको
सगरमाथाजस्तै कष्टसाध्य छ
मान्छे मनको यात्रा पनि
तैपनि ऊ हिँड्दै छ। हिँडेकै छ निरन्तर
मान्छेसम्म पुगिछाड्ने विश्वासमा।
मान्छेलाई विस्थापित गरेर मान्छे
आफू स्थापित हुन खोज्छ यहाँ
मान्छेले नै मान्छेलाई पटक पटक
मान्छेको कोटिबाट तल झार्न खोजेको छ यहाँ
मान्छेले नै मान्छेलाई पटक पटक
अमान्छेको हुलमा मिसाउन खोजेको छ यहाँ।
अब मान्छेले एकअर्काका पाखुरा नछामेर
मुटु छामे कसो होला ?
वैमनस्यताको मनमारा घारी फाँडेर
आत्मीयता उमारे कसो होला?
बरु अलिकता आफू भत्केरै पनि
निर्माणतिर लागे कसो होला ?
उकालो लाग्लालाग्दै चन्द्रमा पुगेको मान्छे
मान्छेकै आँखाबाट खसेर पातालमा अदृश्य पनि भएको छ
यात्रामा उकाली ओराली त कहाँ आउँदैनन् र आउँछन
झर्नु उक्लनुको नाममा मान्छेले भत्किन मिल्छ र आफैँबाट ?
उत्तरमा मिल्दैन भने पनि भत्केको छ मान्छे
मिल्छ भने पनि सग्लो छैन
विखण्डित मान्छे अवयवहरू जोडिनै पर्छ एकअर्कामा
पौरखी हातहरू जुटेर हत्केलामा सगरमाथा उचालेजस्तै
मान्छेहरू समुन्नयनको ऊर्ध्वगामी यात्रामा अकासिनै पर्छ।
सपनाभरि मान्छे खण्डित अनुहारहरू आएर
याचना गर्दै छन् आज मान्छेसँगै
हाम्रो सपना धेरैपटक बिथोलिएको छ यसैगरी।
मान्छे अनन्त यात्राको एउटा अथक उपासक हो
हिँड्दा हिँड्दा थाक्छ र सुस्ताएर
फेरि हिँड्छ मान्छे। हिँडिरहन्छ
व्यवधानका अक्टोपसहरूले
बाघझम्टा हान्दा पनि अत्तालिँदैन
नवनिर्माण र नवसिर्जनाका उचाइ छाम्दै
अघि बढिरहन्छ मान्छे
तैपनि मान्छेलाई मान्छेभन्दा बढी घात
कसले पो गरेको छ र !
मान्छे मनका सीमान्तसम्म उभ्याइरहेछ पर्खाल
आज पनि मान्छे
मान्छे विभाजन र मनको अङ्सबन्डामा
उभ्याइएका पर्खाल भत्काउनु छ
मनहरूको सेतु जोड्ने अभियानमा जुटेका छौँ हामी यसपालि।
अब मान्छेका लागि निर्माण पर्याप्त छैन सायद,
मान्छेको विनिर्माण पो थाल्नुपर्ने हो कि
मान्छेको विसङ्घटन। मान्छेडेरिडा
आउनोस्, एउटा बहस चलाऊँ
अर्थात् मान्छे विनिर्माणको बहस।
मान्छे खोला भएर बग्न सक्छ आत्मीयताको
मान्छे पर्वत भएर अग्लन सक्छ मानवताको
आत्मीयता र मानवताले कसैको कुभलो गर्दैन
त्यसो भए मान्छे खोला किन नबन्ने? पर्वत किन नबन्ने ?
मान्छे खोला भएर बग्दा विभेदको मैलो पखालियोस् बस्तीबाट
मान्छे पर्वत भएर उभिँदा क्षुद्रता आफै भागोस् बस्तीबाट
खोला भएर बग्नकै लागि नत्र खोला बन्नुको कुनै अर्थ छैन
पर्वत भएरै ठिङ्ग उभिनका लागि पर्वत हुनुको कुनै अर्थ छैन
खोला झैँ बग्न पाइयोस् खोला बगेर कहिल्यै ननिखि्रए झैँ
पर्वत झैँ अग्लिरहन पाइयोस् पर्वतले कहिल्यै झुक्नु नपरे झैँ
खोला बन्नका लागि मान्छे खोला झैँ सङ्लो मन लिएर आऊ
पर्वत बन्नका लागि मान्छे पर्वत झैँ दरिलो छाती लिएर आऊ।
युगौँदेखि खोला बन्न लालायित मान्छे
नाला मात्र बन्न सक्यो ढल बग्ने
युगौँदेखि पर्वत बन्न उत्कण्ठित मान्छे
थुप्रो मात्र बन्न सक्यो अभिमानको
र त अब मनबाटै बगाउनु छ
स्वच्छताको खोला खोला बन्नलाई
आत्मैबाट अग्ल्याउनु छ
स्वाभिमानको धरहरा पर्वत बन्नलाई
मान्छेले बन् भनोस् वा तगारो हालोस् यात्रामा
यात्रा, अहँ पटक्कै फर्कनुहुन्न
फेरि अँध्यारो अतीततिर।
जिन्दगी बाँच्नु मात्रै हैन,
खोला बगे झैँ पर्वत उभिए झैँ
अरू पनि केही हो
त्यसैले पनि खोला बन्नुपर्छ अब बग्नलाई
पर्वत बन्नुपर्छ अग्लिनलाई
अब हामी पाइला चाल्छौँ यात्रामा
मान्छेदेखि मान्छेसम्मको यात्रा
अब हामी प्रतिबद्ध हिँड्छौँ यात्रामा
मनदेखि मनसम्मको यात्रा
हामी पानी बनेर खोला बग्नै लागेका छौँ
मान्छेसम्मको यात्रामा
थुम्को बनेर हामी
पर्वत उक्लँनै लागेका छौँ
मनसम्मको यात्रामा
यात्रा गन्तव्यको अर्को नाम पनि हो
हामी मनसम्मको यात्रामा तल्लीन छौँ
हामी मान्छेसम्मको यात्रामा तल्लीन छौँ।
फूल रोप्नु छ अब मनको बगैँचाभरि
फूलमा भोलि फूल मात्र फुल्दैन
मान्छेको मान्छे आस्था र विश्वास पनि फुल्छ
हामीले पनि फूल रोप्न चाहेका छौँ
मान्छेले फूल रोपोस् यस्तो पनि चाहेका छौँ
पर्वत र खोलाले कसैको अहित नगरेजस्तै
फूलले पो कहाँ बिगार गर्छ र कसैको !
हरेक मान्छेले फूल रोपोस्
आशावादिताको फूल मनको बगैँचाभरि
त्यसपछि कसैले मान्छे कविता लेख्नुपर्छ
त्यस्तो लाग्दैन हामीलाई।
अब कविता लेख्नैका लागि कविता लेख्नुहुन्न मान्छेले। कविले
अब सिर्जना गर्नैका लागि सिर्जना गर्नुहुन्न मान्छेले। सर्जकले
हरेक कवितामा मान्छे लेखियोस्
सिर्जनामा मान्छे नै सिर्जियोस्।
कविता टुङ्गिन सक्छ एक दिन मान्छे कविता
मान्छे कविता टुङ्गिनु मान्छे टुङ्गिनु हैन, हुँदै हैन
मान्छेका लागि यस्ता हजारौँ कविताहरू बलिदान हुन सक्छन
मान्छे नै त कवि आस्थाको सर्वोच्च चुली पनि हो,
यो होचिनु हुन्न अनादिसम्म।
समयसँगै हिँड्नुपर्ने मान्छे
किन उछिन्न खोज्छ समयलाई थाहा छैन
अत्याचारको जङ्गे पहाड छातीमा टेकेर उभिइसक्दा पनि
असह्य वेदनाले मन अतिक्रमण गरिसक्दा पनि
मान्छे ब्युँझेको छैन भ्रमको अचेतनबाट।
मान्छे लाख खराब नै सही
फेरि पनि ऊ मान्छेकै पक्षमा उभिन चाहन्छ
मान्छेकै माझमा रहन चाहन्छ
गीतहरूमा मान्छे नै गाउन चाहन्छ
कवितामा लेख्न चाहन्छ मान्छे
मान्छेबिनाको भूगोल
यो कल्पनातीत छ उसका लागि
र
मान्छे भएर मान्छेकै बिचमा बाँच्ने उपक्रम गर्दै छ
ऊ मान्छे
र उपक्रम गरिरहेछौँ
हामी मान्छे पनि।