भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छे मर्छ अस्तित्व बँचाएर / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१.
धर्तीमा जन्मिएको मान्छे सिर्जना गर्छ
एउटा अस्तित्वको,
उसको अस्तित्व जीवनभरको अस्तित्व होइन
मृत्युपछिको अस्तित्व,
उसको अस्तित्व कुनै डर धाकको अस्तित्व होइन
खुला दिलको अस्तित्व,
उसको अस्तित्व एक छेपारा र भ्यागुताको अस्तित्व होइन
मानवमानवको अस्तित्व।

२.
तर मान्छेलाई गहारो छ
यहाँ अस्तित्व कमाउन
मान्छेलाई गहारो छ
यहाँ अस्तित्व बचाउन,
मान्छे पाउँदैन किन्न अस्तित्व
भट्टी पसलबाट
मान्छे पाउँदैन किन्न अस्तित्व
खुला बजारबाट
मान्छे पाउँदैन अस्तित्व लोभ र मोहबाट
मान्छे पाउँदैन अस्तित्व डर र धाकबाट
तर नपाउने होइन अस्तित्व मान्छे
मान्छेले सिर्जिएको हुन्छ अस्तित्व कामबाट
मान्छेले सिर्जिएको हुन्छ अस्तित्व प्रेम र सद्भावबाट
मान्छेले कमाएको अस्तित्व मेटिँदैन
एउटा शीत मेटिएझैँ
मान्छेले कमाएको अस्तित्व रित्तिँदैन
एउटा जीवन रित्तिएझैँ।

३.
मान्छे हार्छ तर हार्दैन अस्तित्व
मान्छे मर्छ तर मर्दैन अस्तित्व
नालापानीको कोट छाड्दैमा
हारेनन् वलभद्रले अङ्ग्रेजदेखि
जेलमा सडेको भीमसेनलाई
चिन्दैछ पछि नेपालले
एकदिन मरेको शहीद ब्यूँझन्छ
अझ अस्तित्व बोकेर
एकदिन बहेको हुरी गर्जन्छ
अझ साहस बोकेर,
गान्धीको मुटुलाई गोलीले छेड्यो
तर अस्तित्वलाई छेडेन
शुकरातले विष पिए
तर उनको अस्तित्वले विष पिएन,
झुण्ड्याइएको यसु मर्यो
कोही आधार नपाएर
तर उसको अस्तित्व झुण्डिएन,
उ बाँचेको छ आधार पाएर।

४.
मर्दैन बुद्ध यहाँ एउटा शरीर छिपाएर
मर्दैन पृथ्वी यहाँ एउटा रूप लुकाएर
मरेको मार्क्स ब्यूँझन्छ यहाँ दीप्ति जगाएर,
लेलिनको अस्तित्व उसको चिहानमा होइन
उसले लाशलाई छोडिसकेको छ
सीमाको डिल काटेर,
मान्छेले कमाएको छ यहाँ अस्तित्व
मान्छेले खोजेको छ यहाँ अस्तित्व
लुक्दैन अस्तित्व शरीर लुकाएर
केवल मान्छे मर्छ अस्तित्व बँचाएर।