भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मायालु...! / सीमा आभास
Kavita Kosh से
मेरो आँगनमा जून चुहेकै बिहान
उसले पठायो
चराको सुसेलीमा बेरेर
गाउन बाँकी एउटा गीत,
शीतको विमानमा सजाएर
मलाई सम्झँदा गुनगुनाउने एउटा धून ।
मेरै लागि उसले साँचेको हुँदो हो–
बेनिद्रा मुस्कुराउने एकान्त
हृदयको कुनाकुनामा अल्झिएको प्रेम–समर्पण
साँझमा छुट्टिने जोडी चखेवाको प्रेमस्पर्श
सेता फूलमुनि ओझेल परेको युगलछाया ।
मेरै लागि उसको आँगनमा रोपेको ठान्दो हो–
सखारै फूलमाथि शीत टेकेर ओर्लने झिसमिसे बिहान
जलकुम्भीमुनि लुक्ने आँसु–तलाउ
अनन्त आकाशमा उड्ने नीला याद
सुनगाभा लर्किएको चुल्ठोभरिको सुदूर सम्झना ।
मेरै यादले सपना बर्बराउँदो हो–
बतास चलेको बेला रुखको पातझैँ
मायाको पछ्यौरी बनेर
फरफराउने माया तिमी
तिमीलाई यो ज्यान सलाम
मायालु...!
तिमीलाई यो जोवन सलाम ।