भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मीठो जमर्को / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कति पटक पग्लिएर बोलाएँ
मनकै तलाउ पौडिएर पर्खिए
परीबन्धका पीडा , भक्कानिएका भाव
हुबहु पोख्ने मीठो जमर्को गरे
कति उच्चारण , चंगाझैं उडाएर
तिमै्र मनको आँगन जानाजान झारें ।

कुनै उत्तर उडेर आएन
धेरै पटक , फर्की फर्की , आकाश हेरेथें
बाटो हिड्ने हरेक आकृति नियाल्थें
सबै हेर्दै नहेरी पार गर्थे
कसैको हातमा कुनै कागत देखिन
कसैले मेरो हुलिया नियालेन
कोहि खबर बाहक थिएनन ।

मायाका अनगिन्ती रंग
काँचका बिकरमाझैं उम्लदै सेलाउदै
फुलका पत्रमा प्रवाहित भइरहे
प्रत्येक फुलका आफ्नै चमक र चहक
कुनैका परिचित त कुनैका अपरिचित महक
ति सबै मनको हावा नपस्ने कन्टेनरमा
एकसाथ भेला भएर हिडीरहेछन
अध्ययनको कसीमा बिल्कुल नयाँ यौगिक बनिरहेछन ।

माया झन् गहिरिदै छ
फुल्नु र ओइलिनुको चक्र
जीवनको प्रयोगशालामा
नयाँ नयाँ रंग अँगालेर
शोधार्थ , विविध फुलका पत्ति थपिएका थपियै छन्
पटकै भारी लाग्दैन ।

आकाश अझैं निलो छ
हावा अझै बहेकै छ
उताका चरा पनि देख्दै छु
बनिसकेका फुलका अमृततुल्य सुगन्धित तरल तत्व
तिम्रा हुन्
केवल ! तिम्रा
अविस्कारका बनाउनुको श्रेय तिमीलाई
मायाका नवसिर्जित रंग
केवल ! पर्खीरहेछन तिमीलाई