हिजो आधारातसम्मै
तिमी मात्रै बोलेको बोलेकै 
मचाहिँ चुपचाप सुनेको सुनेकै 
तर आज 
मेरो निधार अनि आँखाहरूबाट 
शब्दहरू बर्सिंदैछन् 
तिनीहरूको पदचापमा लहर-लहर बज्छ मेरो महाकाव्यको धुन 
के तिमी सुन्दैछौ ?
हैकम हाँक्ने थर्किँदो ढोलले 
धेरै अघिदेखि हो, एकोहोरो 
मेरो कानको जाली हिर्काइरहेको 
तर आज 
आफ्नै चेतनाको सङ्गिनी भाका 
हरेक कानमा तरङ्गिरहेछ 
तिमीलाई यो मनपरेन कि ?
हीनताबोध गन्हाउने खास्टो फ्याँकेर 
नाङ्गो छातीबाट शब्दहरू बाहिर निस्किरहेछन् 
र ती शब्दहरूका पाइलामा सुनिन्छ 
यौटा नौलो मन्त्रोच्चारण 
के तिमी सुन्दैछौ ?
यी शब्दको सासले फुकेर 
रूखका पात अनि घाँसहरू सर्सराइरहेछन् 
तिम्रो हातमा भएको खबरकागज पनि त कस्तरी फर्फराइरहेछ 
तिमी भने 
आफू छुँदै नछोइएको बहाना गरिबस्छौ । 
तिम्रो बासी बेसुरा बेस्वादिलो छन्दबाट निस्केर
यी शब्दहरू त 
मुक्त भइसकेका छन् 
तर तिमी चैं किन यति साह्रो 
चिन्तित भइरहनुपर्यो नि, महाशय ?