मूलधारा अनि म / मनप्रसाद सुब्बा
मूलधाराबारे मैले
धेरै सुनेकोछु
मूलधारा जो मसित सँधै द्रोणाचार्य खेलिबस्छ
जबजब पनि मैले
मूलधारामा मिसिन चाहें
मलाई ढुङ्गे बगरमा हुत्त्याइयो
मेरा अन्त्यहीन दुःखहरू नदेखिने-नसुनिने गरी
मलाई कतै टाढा अनकन्टारमा
यौटा सानो खोल्सा बग्न लगाइयो
मसित मेरो आफ्नै मधुर सुर पनि छ
जसलाई तर मूलधाराको भव्य स्वरसित
मिल्नै दिइँदैन
पहाड-बेँसीको श्वास-निःश्वाससितै
मेरो छाती उठ्छ-बस्छ
तर बेवास्ताको विस्तृत फैलावटबाट
सुक्खा प्रतिध्वनि मात्र आइरहेको सुन्छु
आज
मेरो मनको आवाज भेल उर्ली उठेको छ
मेरो आफ्नै गीतको वर्षाले
निथ्रुक्क भिजेको छु म
मेरो लाटो मुखभित्र
यौटा साँच्चिकै जिब्रो उम्रेको छ
अब मूलधाराको सङ्गीतमा
मेरो आफ्नो सुरले यौटा ठाउँ नपाएसम्म
मूलधाराले अह्राएको गीत म गाउने छुइनँ
यसका चम्किला शब्दहरू सुनेर
मोहनीले लाट्टिएझैँ हुने छुइनँ
ती झिलिमिली शब्दहरू जो हमेशा
मेरा आफ्ना शब्दहरूलाई लट्याउन आइरहन्छन्
अहँ,
म अब मूलधाराको लागि मरिमेट्दिनँ
बरू मूलधारा आफै नै पो
त्यसको आफ्नो घुमाउने दहबाट बाहिर निस्किआउनुपर्छ
मेरो अनुहारलाई चिन्न
मेरो धड्कनलाई बुझ्न