भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत चरा / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वर्षातको कुनै एक बिहान
जब म जिउँदै उठेको थिएँ
मैले त्यो मृत चरा देखेको थिएँ !

हुरिले झारेका पातहरू त्यहीँ थिएँ
जमेको शीत पग्लनें बेलामा
मैले त्यो मृत चरा देखेको थिएँ !

बितेका धेरै वर्षहरू मैले व्यर्थै बिताएको थिएँ
कहिले भट्टी पसलहरूमा बसेर गीत गाएको थिएँ
कहिले मध्यरातहरूमा प्रेमीका सम्झेर बर्बराएको थिएँ
कहिले गाउँघर थर्कनेगरी बेहोशीमा चिच्याएको थिएँ !

मैले खोलाको पानीमा अनुहार हेरेर
धेरै समय कटाएको थिएँ !

जून, तारा, घाम र बतास मात्रै नहुँदो रहेछ जीवन
कहिलेकाहीँ खसेको पहिरोमा जीवन खस्दो रहेछ
कहिलेकाहीँ बगेको आँशुमा जीवन बग्दो रहेछ !

रुख ढलेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
गुँड भत्केको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
पखेटा झरेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
कुनै अन्जान देशमा बम खसेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !

निर्जन जङ्गल
उजाड बस्ती
भग्न शहर
र उदास मान्छेको अध्याँरो हृदयमा
मैले त्यो मृत चरा देखेको थिएँ !

न कुनै परिचय
न अस्तित्वको कुनै ठेगाना
दुर्घटित सपनाबाट व्यूँझिएको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !

आँखा चिम्लेर आफैँलाई खोजेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
आंखाबाट आँशु खस्न लागेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !

थाहा छैन
अस्तित्वको कुन ग्रहबाट खसेको हो
त्यो मृत चरा ?
मैले म मरेको सपना देखेको रात
त्यो मृत चरा देखेको थिएँ !

०००