१. तिमी फूल !
—	गमलाभरी फुल्छौं
हाँगाहरुमा झुन्डिनु मेरो आँखाको
—	मायालु पत्रहरुको (पत्रदल)
ओसारेर सिउरिन्छ भाइले
—	फाइलिङ्ग फूलदानमा, फूलदानभरी
लिली, सयपत्री, सुनाखरीसँगै
—	कुम जोडेर खापै खाप÷खापै खाप
२. माया हो बिझाउँछ
—	रात लम्बिन्छ रे !
सुगन्ध ओडेर आउनु सुटुक्क
—	घर पछाडिबाट, अनि घुमौंला
हो ! घुमौंला जुनेली सडकहरुमा
परिवारहरुका कुराहरु गर्दै
तिमी र म
(फूल र मान्छे)
कसरी कुरा गर्ने ?
कसरी कुरा गर्ने ??
यौटा अप्ठेरो परिस्थिति, झन अप्ठेरो भइदिन्छ ।
जात नमिलेका हामी दुबै ! 
जात नमिलेका हामी दुबै !!
? आउँछ मेरो बा’को
          अनि आमाको
फुल्यौं, केही छैन (जिउनु हो)
छामी राख मुटुहरुमा
—	उत्तर ठीक पारेर माया
माया (तिमी र म)बाँच्ने
   जिन्दगी२
३. मेरी फूल !
कीरा लाग्छ संस्कारको 
—	यो धुम्म हुनु अनुहारमा
आज देखेको तर्केर
—	कसैको दौराको तुनामा, हात हातमा
(उफ ! शंका फूललाई
– म – लाई
जीवनलाई – जी – वन – लाई)
जी
व
न
उमेर नाप्छु !!
शंकाले अस्तित्वलाई चिमोट्छ
दुखिदिन्छु मासु स्नेहको
–	त्यसैले –
तिमी र म कहिल्यै नदुख्ने !
कहिले नदुख्ने तिमी र म !!
(फुली दियौं, फुल्छौ)
४. अब नयाँ कमीज सिउँछु
—	दुई खल्ती बनाएर, देब्रे खल्तीमा
ढुंगा झिकेर फूल राख्छु तिमीलाई !
स्वीकार छ ?
—	फूल राख्छु तिमीलाई !!
तिमी फूल !
—	गमलाभरि फुल्छौं
हाँगाहरुमा झुन्डिनु मेरो आँखाको ।