Last modified on 21 अगस्त 2020, at 22:21

मौन राख मलाई / युलिया घेरगेई / सुमन पोखरेल

मीठा शब्द र रसिला झूठ बोल्न नलगाऊ
मुख नसुकुन्जेल
घन्टौँ बोलिरहन सक्छु म ।

आफ्ना कानलाई मेरा अविरल प्रेमगीतबाट मुक्त गर्न
तिमी चुम्बनले मेरा ओठ छोप्न चाहने छौ ।

मौन राख मलाई,
तिम्रा आँखाभित्र हराइरहेका
मेरा आँखा मात्रसँग रहन देऊ मलाई ।

मीठा शब्द र रसिला झूठ बोल्न नलगाऊ,
हजारौँ शब्द छन् मसँग,
तिम्रो जीवनबाट दुःख पखाल्न सक्ने
र तिमीलाई प्रेमको रसमा डुबाइरहन सक्ने ।

बादल गुलाबी हुने
आगोका ज्वाला नीला र गोलाकार हुने
वर्षाको पानीले शरीरमा आइसक्रिमको सुवास पोख्ने
नयाँ संसार बनाउन नभन मलाई ।

मलाई पटक्कै नभन,
सक्न त सक्नेछु म ।